आत्तिएर र मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।

बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् ।

उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।

'त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्युभन्दा पनि भयावह ढंगले भयो । त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ । आवश्यकता हेरेर खास ठाउँमा त्यो विचार पुर्‍याएर हामी लकडाउन गर्नेछौँ । सजिलैसँग लकडाउनमा जाँदैनौं । आवश्यकताअनुसार ठाउँ विशेष गर्न सक्छौँ' उनले भने ।

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे ।

मन्त्री खतिवडाले विज्ञले बुस्टर डोज लगाएपछि नयाँ भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए ।



मन्त्री खतिवडाले स्वास्थ्यकेन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे । कोरोना खोप लगाउन अस्पतालमा भीड भइरहेको प्रशंगमा मन्त्री खतिवडाले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भीड हुन नदिने बताए ।



  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १५:१९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया