अमेरिका जाने चाहना उमेश (परिवर्तित नाम)को हो । उनी सपनाको देश ठान्थे अमेरिकालाई । त्यही भएर अमेरिका पुर्याउने मान्छेको खोजीमा थिए । खोज्दै जाँदा भेटिए, मुक्तिनारायण केसी र सुधा देवकोटा । उनीहरू श्रीमान्-श्रीमती हुन् । कुरा २०७५ सालको हो ।
उनीहरूको घर तुलसीपुर उपमहानगरपालिका- १९, दाङमा छ । बसोबास भने तारकेश्वर नगरपालिका – १९ काठमाडौंमा हो । उनीहरूले अमेरिका पुर्याउन उमेशलाई २७ लाख चाहिने बताए । यति रकम तिरेपछि भने आश्वासन दिए– चिन्ता नगर्नु हामी अमेरिका पुर्याइदिन्छौँ, मासिक तीन लाख रुपैयाँ कमाइ हुन्छ ।
त्यसपछि मुक्तिका भान्जा (पहिचान गोप्य राखिएको)ले पटकपटक गरी सात हजार डलर अर्थात् नेपाली मुद्रा १९ लाख १० हजार रुपैयाँ सटही गराउन लगाए । सटही गरे उमेशले ।
यति भएपछि अमेरिका जान आवश्यक तयारी पूरा भयो । १९ माघ, २०७५ को दिन उमेशको उडान भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी सवार विमान इन्डोनेसियाको बालीमा अवतरण गर्यो । बालीमा केही दिनको बसाइपछि जाकार्तमा पुर्याइयो उमेश । जाकार्त इन्डोनेसियाको एउटा ठूलो सहर हो ।
यो सहरको बसाइपछि फेरि उमेशलाई सीधै बोलेभिया हुँदै अमेरिका पुर्याउने भनियो । तर, जाकार्त विमानस्थलमा ‘सेटिङ’ नमेलेको भनियो । त्यसपछि इथियोपियाको बोले भन्ने सहरबाट अमेरिका पठाउने भनेर साथमा रहेका मुक्तिनारायणका भान्जाले आवश्वासन दिए ।
अन्ततः उनलाई जाकार्तमै एउटा कोठामा राखियो । उमेशका अनुसार साढे तीन महिनासम्म बाहिर कतै निस्किन दिइएन, बन्धक बनाइयो ।
बन्धक भएर बसेकै बेला उनको नेपालस्थित परिवारसँग कुरा भयो । ठ्याक्कै मिति भने उनलाई थाहा छैन । तर, घरपरिवारका सदस्यसँग कुरा भएपछि भने उनको उद्धार भयो ।
उद्धारपछि २१ कात्तिक, २०७६ मा मानव बेचविखन तथा अनुसन्धान ब्यूरोमा उनको किटानी जाहेरी पर्यो । प्रतिवादी थिए – उनै मुक्तिनारायण र सुधा ।
प्रहरी खोजीमा जुट्यो तर फेला परिरहेको थिएन । बरु थपियो अर्को जाहेरी १३ मंसिर २०७६ मा । जाहेरकर्ता हुन् नारायण (परिवर्तित नाम) । पीडकहरू भने मुक्तिनारायण र सुधा नै ।
जाहेरीमा उल्लेख भएअनुसार नारायणलाई अमेरिका जसरी भए पनि पठाउने भनेर मुक्तिनारायण र सुधाले भनेका थिए । पठाउने ग्यारेन्टी हुने विश्वास दिलाएपछि मागे जति १५ लाख रुपैयाँ नारायणले पनि दिए ।
कुरा २०७५ सालकै हो । मागेको पैसा बुझाएपछि भने नारायणलाई काठमाडौंको स्वयम्भूबाट गाडी चढाइयो र लगेर राखियो भारतको नयाँ दिल्ली । त्यहाँ उनको बसाइँ दुई महिनासम्म भयो । यति लामो बसाइँमा पनि उनको उडान अमेरिका भएन । तनावमा रहे । नपठाउने हुन् कि लागिरह्यो मनमा । तर, जसरी पठाउने भनिरहे मुक्तिनारायणले । यद्यपि, काम नभएको र नेपालबाटै छिटो काम हुन्छ भन्दै नेपाल फर्काइयो र भनियो ‘अब, इन्डोनेसिया हुँदै अमेरिका जाने ।’
होला नि त भनेर विश्वासमा रहे नारायण । नभन्दै १२ फागुन, २०७५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भयो । पुर्याइए इन्डोनेसियाको बाली । । त्यसपछि पुर्याइए इन्डोनेसियाकै जाकार्त सहर । जहाँ सात महिना राखियो । नारायणका अनुसार दिनहुँ शारीरिक र मानसिक तनाव दिइयो । त्यसैबेला उनी जाकर्ताको अध्यागमनबाट पक्रिए । १४ दिन जेलमा बसे ।
अमेरिका जाने भनेका नारायण १५ लाख डुबाउँदै कठोर यातना र जेल जीवन बिताउँदै १३ मंसिर २०७६ मा नेपाल फर्किए । सोही महिनाको १३ गते नै उनले मुक्तिनारायण र सुधाको नाममा किटानी जाहेरी ब्यूरोमा दिए ।
सोही जाहेरीका आधारमा दुई वर्षपछि २८ मंसिर २०७८ मा सुधा पक्राउ परिन् । मुक्तिनारायण पक्राउ पर्न बाँकी रहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले फरकधारलाई जानकारी दिए । सुधा भने पुर्पक्षका लागि मंगलबार कारागार कार्यालय जगन्नाथ देवल चलान भएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।