प्रदेश १ : रानी नाकाको होल्डिङ सेन्टर निर्माण ४ दिनभित्र सक्न निर्देशन
फरकधार / २९ पुस, २०७८

प्रदेश १ सरकारले भारतलगायत तेस्रो देशबाट आएका नागरिकलाई राख्नका लागि निर्माण भइरहेको होल्डिङ सेन्टर चार दिनभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ ।



कोरोना माहामारीको तेस्रो लहर बढिरहेका पनि होल्डिङ सेन्टर निर्माणको काम सम्पन्न नभएपछि प्रदेश १ सरकारको टोलीले विराटनगर १६ मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन गरेको थियो ।

मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादव सहितको टोलीले सीमा नाकाको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले निर्माणाधीन होल्डिङ सेन्टरको चार दिनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए ।



विराटनगरमा सीमा क्षेत्रबाट प्रवेश गर्नेलाई लक्षित गरेर एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको छ ।

गत असार ३ गतेबाट निर्माण सुरु भएको होल्डिङ सेन्टरको एक महिना भित्र निर्माण सम्पन्न गर्ने नेपाली सेनाले लक्ष्य लिएको छ ।

तर संक्रमणदर बढेकाले कम्तिमा एक सय बेड चार दिन भित्रमा तयारी अवस्थामा राख्नु पर्ने प्रदेश सरकारको  निर्देशन छ ।

नेपाली सेना कालीशक्ति गणका गणपति प्रशान्त बज्राचार्यका अनुसार होल्डिङ सेन्टर निर्माणको कुल लागत २८ करोड ९१ लाख ३३ हजार ६ सय ९३ रुपैयाँ ९३ पैसा रहेको छ ।

बज्राचार्यले पानी र बिजुलीको प्रबन्ध गरिदिएमा चार दिनमै सय बेड क्षमताको होल्डिङ सेन्टर तयार गर्ने बताए । मन्त्री कार्कीले चार दिनभित्रै सेन्टर तयार गर्न भन्दै पानीका लागि आवश्यक सामग्री आफूले दिने बताए ।

उनले भने, ‘बिजुली पानीको काम पनि आजैबाट सुरु गर्नुहोस् । कोरोना जनसुरक्षा कोष, महानगरपालिका सँग समन्वय गर्नुपर्यो । पानी तान्नका लागि कल कहीँ छैन भने म कहाँ आउनुहोस् ।’

सीमा क्षेत्रमा कडा निगरानी गर्न मन्त्री कार्कीले निर्देशन दिएका छन् । ‘सीमा क्षेत्रमा कडा निगरानी गर्नुहोस् । कसैलाई छुट भन्ने हुँदैन । यदि म नै उता पारी गएँ भने पनि खोप कार्ड अनिवार्य गर्नुहोस् । उनले भने हामी सबै मिलेर नै महामारी नियन्त्रणमा लिन सक्छौँ ।’

विराटनगर महानगरपालिका-१६ का वडा अध्यक्ष मनोज सुब्बाले चार दिनभित्र होल्डिङ सेन्टरमा पानीको प्रबन्ध मिलाउने बताए । जसका लागि प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ । प्रदेश सरकारले महामारी नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको छ ।

अनुगमनका क्रममा मुख्यमन्त्री राईले खोप अभियानलाई पनि क्रमशः बढाउँदै लाने बताए । उनले भोलि नै सबै राजनीतिक दलका बीचमा सर्वदलीय बैठकको आयोजना गरेर सबैलाई महामारी नियन्त्रणमा जिम्मेवार बनाउने जानकारी दिए ।

जोगवनी हेल्प डेस्कका अनुसार पौष महिनामा दुई हजार ३९ जनाको परीक्षण गर्दा ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो दर दैनिक रूपमा बढ्दै गएको डेस्कमा रहेका प्रतिनिधिले जानकारी गराएका छन् ।

अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सुरक्षाकर्मी निकाय को सहभागिता थियो ।

  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १७:१५:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया