तेलमा निर्भर वैदेशिक व्यापार : पाँच महिनामा ६६ अर्बको आयात, ५० अर्बको निर्यात
निर्यातमा करिब आधा हिस्सा प्रशोधित तेलको

नेपालको वैदेशिक व्यापारमा सबैभन्दा ठूलो हिस्सा खाने तेलको रहेको छ । आयात तथा निर्यात दुवैमा सबैभन्दा ठूलो हिस्सा कच्चा र प्रशोधित तेलको रहेको पाइएको हो ।

अर्थात वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा तेलको आयत र निर्यातसँग जोडिएको छ । नेपालले विदेशबाट कच्चा तेल ल्याई त्यसलाई प्रशोधन गरी पुनः विदेश पठाउने गरेको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिना (साउन, भदौ, असोज, कात्तिक र मंसिर) मा नेपालले कूल ६६ अर्ब ४२ करोड ५२ लाख ५६ हजार रुपैयाँको विभिन्न कच्चा तेल आयत गरेको छ ।

उक्त अवधिमा नेपालले सो मूल्यमा १ अर्ब २२ करोड ३० लाख ३० हजार ५५६ लिटर विभिन्न प्रकारका कच्चा तेल आयात गरेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको सुरुवाती पाँच महिनामा नेपालले ३३ अर्ब ६६ करोड ५४ लाख ५९ हजार रुपैयाँमा ९८ करोड ५७ लाख १९ हजार ६८ लिटर कच्चा भटमास तेल ल्याएको छ ।

सोही अवधिमा २४ अर्ब ६१ करोड ७५ लाख ८७ हजार रुपैयाँको १८ करोड ८१ लाख ७५ हजार ५२५ लिटर कच्चा पाम तेल नेपाल भित्रिएको छ ।



बितेको पाँच महिनामा नेपालले ८ अर्ब १२ करोड ९४ लाख ७५ हजार रुपैयाँमा ४ करोड ९० लाख ७० हजार ७३४ लिटर कच्चा सनफ्लावर तेल आयात गरेको देखिन्छ ।

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष सुरु भएयता १ करोड २७ लाख ३६ हजार रुपैयाँको ६५ हजार २२९ लिटर कच्चा नरिवल तेल नेपाल भित्रिएको छ ।



नेपालले चालु आर्थिक वर्ष सुरु भएयताको पाँच महिनामा विभिन्न देशबाट कूल ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपैयाँको वस्तुहरू आयात गरेको छ । कूल आयात व्यापारमा कच्चा तेलको हिस्सा ७.९२ प्रतिशत रहेको छ ।

निर्यातमा करिब आधा हिस्सा प्रशोधित तेलको

चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा नेपालले कूल ५० अर्ब १२ करोड ४ लाख ६६ हजार रुपैयाँका प्रशोधित खाने तेल निर्यात गरेको छ ।

उक्त अवधिमा नेपालले ९ करोड ६१ लाख ६३ हजार ७०६ लिटर र १३ करोड ४० लाख ८१ हजार ८५३ केजी प्रशोधित खाने तेल निर्यात गरेको छ ।

बितेका पाँच महिनामा नेपालले ३० अर्ब ५५ करोड ८० लाख ३९ हजार रुपैयाँको १३ करोड ४० लाख ८१ हजार ८५३ केजी  प्रशोधित भटमास तेल निर्यात गरेको छ ।

सोही समयमा १७ अर्ब २७ करोड ७२ लाख ५८ हजार रुपैयाँको ८ करोड ४६ लाख ६८ हजार ६३४ लिटर प्रशोधित पाम तेल निर्यात गरेको छ ।

नेपालले २ अर्ब २८ करोड ५१ लाख ६९ हजार रुपैयाँको १ करोड १४ लाख ९५ हजार ७२ लिटर प्रशोधित सनफ्लावर तेल निर्यात गरेको छ ।

भन्सार विभागका अनुसार नेपालले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कूल १ खर्ब २ अर्ब ९२ करोड ५ लाख ७२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । यसमा ४८.६८ प्रतिशत हिस्सा प्रशोधित तेलको मात्र रहेको छ । अर्थात निर्यात व्यापारमा करिब आधा हिस्सा प्रशोधित तेलले ओगटेको छ ।

कहाँबाट आउँछ, कहाँ जान्छ ?

जो कसैलाई जिज्ञासा लाग्नसक्छ– नेपालले यति ठूलो मात्रामा कच्चा तेल कहाँबाट ल्याउँछ र प्रशोधन गरी कहाँ बेच्छ त ?

भन्सार विभागका अनुसार नेपालले कच्चा भटमास, सनफ्लावर, पाम र नरिवल तेल १२ वटा देशबाट ल्याउने गरेको छ ।

यो वर्ष अर्जेन्टिना, ब्राजिल, इजिप्ट, पराग्वे, युक्रेन, उरुग्वे, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, रुस, भारत र अमेरिकाबाट नेपालमा कच्चा तेल आएको छ ।

विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा नेपालमा सबैभन्दा बढी कच्चा तेल दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबाट आएको छ ।

पछिल्लो पाँच महिनामा अर्जेन्टिनाबाट २३ अर्ब २२ करोड ६२ लाख ७२ हजार रुपैयाँको ९१ करोड ९७ लाख ७५ हजार ५४८ लिटर कच्चा भटमास तेल र २६ करोड ८० लाख ५१ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल नेपाल भित्रिएको छ ।

ब्राजिलबाट ४ अर्ब ७१ करोड १४ लाख २९ हजार रुपैयाँ, इजिप्टबाट ६ करोड ५० लाख ७५ हजार रुपैयाँ, पराग्वेबाट ४ अर्ब ८८ करोड २६ लाख ६६ हजार रुपैयाँ, युक्रेनबाट ७६ करोड २८ लाख ४८ हजार रुपैयाँ र उरुग्वेबाट १ करोड ७१ लाख ६९ हजार रुपैयाँको कच्चा भटमास तेल पछिल्लो पाँच महिनामा नेपालले खरिद गरेको छ ।

सोही अवधिमा नेपालमा इन्डोनेसियाबाट २० अर्ब ३१ करोड २१ लाख ३२ हजार रुपैयाँ, मलेसियाबाट ४ अर्ब २२ करोड ७८ लाख ८६ हजार रुपैयाँ र फिलिपिन्सबाट ७ करोड ७५ लाख ६९ हजार रुपैयाँको कच्चा पाम तेल भित्रिएको छ ।

यस्तै, रुसबाट १ अर्ब ९५ करोड ५४ लाख ८१ रुपैयाँ र युक्रेनबाट ५ अर्ब ९० करोड ५९ लाख ४३ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल नेपाल आएको छ ।

नेपालमा भारतबाट ७५ लाख ४२ हजार रुपैयाँ, मलेसियाबाट ५१ करोड ७९ लाख रुपैयाँ र अमेरिकाबाट १४ हजार रुपैयाँको कच्चा नरिवल तेल उक्त अवधिमा भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो पाँच महिनामा नेपालले ५० अर्ब १२ करोड ४ लाख ६६ हजार रुपैयाँका प्रशोधित खाने तेल निर्यात गरेको छ । यो सबै निर्यात भारतमा मात्र गरेको छ ।

नेपालले चालु आर्थिक वर्ष सुरु भएयता भारतमा ३० अर्ब ५५ करोड ८० लाख ३९ हजार रुपैयाँको प्रशोधित भटमास तेल, १७ अर्ब २७ करोड ७२ लाख ५८ हजार रुपैयाँको प्रशोधित पाम तेल र २ अर्ब २८ करोड ५१ लाख ६९ हजार रुपैयाँको प्रशोधित सनफ्लावर तेल निर्यात गरेको छ ।

पछिल्लो पाँच महिनामा भारतबाट नेपालमा ५ खर्ब ३ करोड ९२ लाख ६४ हजार रुपैयाँको वस्तु आयात भएको छ । सोही समयमा नेपालबाट भारतमा मात्र ८४ अर्ब १५ करोड ४३ लाख ६३ हजार रुपैयाँको वस्तु गएको छ । अर्थात, नेपालबाट भारत निर्यात हुने कूल वस्तुमा प्रशोधित तेलको हिस्सा ५९.५५ प्रतिशत रहेको छ ।

विगतमा के थियो ?

नेपालमा तेलको आयात र निर्यात यस वर्ष मात्र बढेको होइन । केही वर्षयता कच्चा तेलको आयात र प्रशोधित तेलको निर्यात क्रमशः बढ्दै आएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले कूल ७६ अर्ब ८८ करोड ४५ लाख ८१ हजार रुपैयाँको कच्चा भटमास, पाम, सनफ्लावर र नरिवलको तेल आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

सो आर्थिक वर्ष नेपालले ५५ अर्ब ९० करोड ३६ लाख ३१ हजार रुपैयाँको प्रशोधित भटमास, पाम, सनफ्लावर र नरिवल तेल निर्यात गरेको थियो । निर्यात भारतमा मात्र भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालले विभिन्न देशबाट ४६ अर्ब ५४ करोड २६ लाख ९१ हजार रुपैयाँको कच्चा भटमास, पाम, सनफ्लावर र नरिवल तेल आयात गरेको थियो । सो वर्ष नेपालले ३१ अर्ब ११ करोड ६१ लाख ९ हजार रुपैयाँको प्रशोधित भटमास, पाम, सनफ्लावर र नरिवल तेल निर्यात गरेको थियो ।

  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार २०:४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया