नेपालमा कोरोना महामारीको तेस्रो लहर सुरु भएकै हो, के गर्दैछ स्वास्थ्य मन्त्रालय ?

कोरोना संक्रमण बढ्न थालेपछि पुनः चिन्ता र चासो थपिएको छ । पछिल्लो दिनमा कोरोना संक्रमणदर लगभग १५ गुणाले बढेपछि फेरि सर्वसाधारणमा चासो बढेको हो । 

योसँगै नेपालमा कोरोना संक्रमण तेस्रो लहर सुरु भएको अनुमान गरिएको छ । विज्ञहरूले कोरोना समुदायस्तरमा फैलिसकेको र यसले भयावह अवस्था ल्याउनसक्ने चेतावनी दिएका छन् । 

समुदायस्तरमा पनि भयावह अवस्थामा फैलिरहेको विज्ञहरूको भनाइ छ । जनस्वास्थ्य विज्ञ डा. रमेश आचार्यले कोरोना संक्रमण समुदायभित्र फैलिसकेको बताए । परीक्षणको दायरा बढाउनुपर्ने र जनस्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाइ गरिनुपर्ने उनको भनाइ छ । 

यसरी कोरोना संक्रमण बढ्नुलाई कोरोना महामारीको तेस्रो लहरको संकेत गरिएको छ । आगामी दिनमा अझै बढ्ने र तेस्रो लहरको भयावह अवस्था सिर्जना हुने डा. आचार्यले चेतावनी दिए । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. वासुदेव पाण्डेले ओमिक्रोन भेरियन्टका कारण संक्रमणको संख्या बढिरहेको बताए । अहिले भइरहेको नमुना संकलन र संक्रमणदरको आधारलाई हेर्दा तेस्रो लहर आइसकेको उनको भनाइ छ । 

डा. आचार्यले पनि समुदायस्तरमा फैलिसकेको कोरोनालाई हेर्दा तेस्रो लहरको भयावह अवस्था नजिक पुगिसकेको बताए । ‘हाम्रोमा त्यति धेरै परीक्षण हुन सकिरहेको छैन । यसरी हेर्दा संक्रमण समुदायस्तरमा ठूलै लहरको रूपमा संक्रमण फैलिरहेको देखिन्छ,’ उनले भने । 



समुदायस्तरमा कोरोना परीक्षण गराउने हो भने यो संख्या निकै बढ्ने उनको भनाइ छ । धेरै व्यक्तिलाई संक्रमण भइसके पनि परीक्षणमा रहेको कमजोरीका कारण नदेखिएको आचार्यको भनाइ छ । 

यो संख्या आगामी सातामा निकै बढ्ने र अहिले उपलब्ध स्रोतसाधनले भ्याउन नसक्ने उनले बताए । अहिलेसम्मको अध्ययनले ओमिक्रोम भेरियन्टले घाँटीको माथिल्लो भागमा संक्रमण गराइरहेको पाइएको छ । 



यसअघिको अन्य भेरियन्ट जसरी ओमिक्रोन फोक्सोमै गएर असर नगर्ने देखिएको डा. पाण्डेको भनाइ छ । श्वासप्रश्वासमा मात्रै असर हुने र दुवै मात्रा लगाएको व्यक्तिलाई पनि संक्रमण हुनसक्ने उनको भनाइ छ । यसका लागि प्राकृतिक रूपमा ओमिक्रोनविरुद्धको एन्टिबडी नआउन्जेलसम्म यो रोग अझै व्यापक रूपमा नै हुने उनले बताए ।

यो संक्रमण समुदायमा ४० देखि ५० प्रतिशतलाई भएपछि मात्रै कम भएर जाने पाण्डेको भनाइ छ । 

कस्तो छ पछिल्लो एक साताको संक्रमणदर ?

२३ पुसमा १४ हजार ९७१ जनाको परीक्षण गराउँदा ९६८ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो दिनसम्म ५ हजार ७४१ जना सक्रिय संक्रमित थिए । त्यसको ठीक एक सातापछि १४ हजार ३४० सक्रिय संक्रमित पुगेका छन् । 

परीक्षणको दायरा भने १२ देखि १५ हजारको हाराहारी मात्रै भइरहेको छ । यदि परीक्षणको दायरा बढाउने लैजाने हो भने संक्रमणदर पनि निकै बढ्ने जनस्वास्थ्यविद् डा. आचार्यको भनाइ छ । 

संक्रमणदर बढे पनि कोरोना संक्रमणबाट मृत्यु हुने संख्या भने एकदमै न्यून छ । पछिल्लो सात दिनमा कोरोना संक्रमणबाट आठजनाको मात्र मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । 

यसरी मृत्यु दर कम हुनुमा कोरोनाविरुद्धको खोप, यसअघि संक्रमण भइसकेपछि शरिरमा बनेको एन्टिबडीलगायतको कारण रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । 

अब के गर्ने ? 

नेपालले यसअघि पहिलो र दोस्रो चरणको लहर पार गरिसकेका छ । पहिलोभन्दा दोस्रो लहरमा भने भयावह अवस्था सिर्जना भएको थियो । कोरोना संक्रमणको नयाँ भेरियन्ट डेल्टाका कारण संक्रमण भयावह बनेको थियो । 

त्यो समयमा अक्सिजनको अभावमा धेरै संक्रमित ज्यान गुमाउन पुगे । अस्पतालमा शय्याको अभाव, अक्सिजनको अभाव, आईसीयू, भेन्टिलेटरको अभाव गर्दा दोस्रो लहरमा धेरैले ज्यान गुमाउन पुगेका थिए । 

दोस्रो लहर र पहिलो लहरबाट पाठ सिकेर तेस्रो लहरको तयारी गर्नुपर्ने डा. आचार्य बताउँछन् । ‘कोरोना महामारीको सुरुवात देखिनै भन्दै आएका थियौं । परीक्षणको दायरा व्यापक बनाउनुपर्‍यो,’ उनले भने, ‘स्वास्थ्य मापदण्डको पालनामा कडिकडाउ गर्नुपर्‍यो भनेर भन्दै आएका थियौं, यसमा अब पनि चुक्यौ भने अवस्था खतरनाक हुनसक्छ ।’ 

दोस्रो लहरको महामारीले नेपालको स्वास्थ्य प्रणाली नै असफल पारिदिएको थियो । अब पनि समयमै सचेत भएर काम गर्न सकिएन भने तेस्रो लहरले अर्को समस्या निम्त्याउन सक्ने उनको भनाइ छ । 

सीमा नाकाका थप कडाई गर्दै स्वास्थ्य परीक्षणको दायरा व्यापक बनाउने, खोप अभियानलाई थप तिब्रता दिने र स्वास्थ्य पूर्वाधारलाई थप विस्तारको आवश्यकता रहेको जनस्वास्थ्य विज्ञ डा. आचार्यको भनाइ छ । 

के गर्दैछ स्वास्थ्य मन्त्रालय ? 

स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको तेस्रो लहर आउन नदिन हरसम्भव प्रयास गरिरहेको मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीले बताए । सीमा नाकाबाट आउनेलाई एन्टिजिन परीक्षण गर्ने, खोप अभियानलाई तिव्रता दिने जस्ता कार्य नियमित गर्दै आएको उनको भनाइ छ । 

महामारी नियन्त्रणका लागि सरकार मात्र नभएर आम नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।  

  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १६:७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया