सहकारीहरू आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीहरू आफ्ना सदस्यहरूप्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिएकी छन् । 

काठमाडौंमा आज आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभामा बाेल्दै मन्त्री श्रेष्ठले समुदायतर्फ सदैव जिम्मेवार बनेर आममानिसको भरोसा बढाउनु सहकारीको दायित्व भएको बताएकी हुन् ।

मन्त्री श्रेष्ठले सहकार्यको भावनामा सञ्चालन हुने निकाय सहकारीमा सबैभन्दा बढी ब्याज रहेको भन्ने व्यापक रूपमा जनगुनासो आइरहेकाले यसलाई तत्काल निकास दिन आवश्यक टिप्पणी गरिन् ।

उनले भनिन्, ‘सहकारीको सिद्धान्त, उद्देश्य, र मर्मअनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकी सहकारीप्रति बचतकर्ताको विश्वासमा कमी आएको देखिएको छ । सहकारी क्षेत्रमा देखिएका चुनौती र जोखिमलाई न्यूनीकरण गर्दै यस क्षेत्रप्रति आमनागरिकको विश्वास र भरोसा बढाउँदै लगानी गर्न आकर्षित गर्नु सबैको दायित्व हो ।’

मन्त्री श्रेष्ठले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रूपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरूलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनु पर्नेमा दुईमत नरहेकाे जिकिर गरिन् ।

सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यही अनुसार चल्ने भएकाले सोही अनुसार भिजन पेपर तयार पारिरहेको पनि मन्त्री श्रेष्ठकाे भनाइ छ ।



सहकारीको सिद्धान्त, मूल्य, मान्यता र प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै संविधानमा समृद्धिको आधारस्तम्भ मानिएको सहकारी अभियानलाई थप प्रभावकारीताका साथ अघि बढाउन राष्ट्रिय सहकारी बैंकले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा पनि मन्त्री श्रेष्ठले जोड दिइन्।



  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १४:३६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया