अस्थायी रूपमा मेलम्चीको पानी उपत्यकामा ल्याने कार्ययोजना कार्यान्वयन गर्न निर्देशन
फरकधार / ३० पुस, २०७८

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायी रूपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पथान्तरण गर्नेगरी बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ ।



शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाले अस्थायी रूपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पठाउन बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको हो ।

बैठकपछि समितिकी सभापति कल्याणीकुमारी खड्काले खानेपानी मन्त्रालयका जिम्मेवार निकायहरुबाट काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा खानेपानी सेवा बिस्तारका लागि भइरहेका कार्य अन्य निकायबाट आवश्यक समन्वय नभई क्षति पुर्‍याउने कार्य भइरहेकोले तेस्रो पक्षबाट खानेपानी आयोजनाको काममा पुर्या‍इएको क्षतीको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिइन् ।

उनले यस्तो समस्या दोहोरिन नदिनका लागि विधेयक संसदमा पेश गर्न पनि सरकारलाई निर्देशन दिइन् । समितिले नेपालमा खानेपानीको मुहान सुक्दै गइरहेको अध्ययनले देखाएकोले मुहान संरक्षणको कार्ययोजना बनाइ कार्यान्वयनमा लैजान पनि सरकारलाई निर्देशन दिएको छ ।



सभापति खड्काले बाढीका कारण क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण रहेकोले काठमाडौं उपत्यकामा पानीको माग धान्न नसक्ने देखिएको भन्दै त्यसको विकल्प पहिचान गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन खानेपानी मन्त्रालयलाई निर्देशन दिइन् ।

'हालैको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण रहेको अवस्थामा काठमाडौं उपत्यकामा पानीको माग धान्न नसक्ने देखिएकोले त्यसको विकल्प पहिचान गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन समिति नेपाल सरकार खानेपानी मन्त्रालयलाई निर्देशन दिन्छ’ उनले भनिन् ।

  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १७:५४:५०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया