सरकारले स्थानीय तहको चुनाव पन्छाउन खोजेको प्रदीप ज्ञवालीको आरोप
फरकधार / ३० पुस, २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले स्थानीय तहको निर्वाचन पन्छाउन खोजेको आरोप लगाएका छन् ।



शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनको सम्बन्धमा निर्वाचन आयोगले गरेको सिफारिसअनुसार सरकारले कुनै निर्णय नगरेको बताएका हुन् । उनले सरकारले स्थानीय तहको निर्वाचनलाई पन्छाउन खोजेको आशंका पैदा भएको भन्दै एमालेले त्यस्तो हुन नदिने बताए । समयमा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने उनको भनाइ छ । 

‘त्यसो भएको हुनाले चुनावको विकल्प छैन । सामान्यतया निर्वाचन आयोगलाई १२० दिन चाहिन्छ चुनावको तयारीका लागि, अहिलेसम्म सरकारले निर्वाचन आयोगको सिफारिसअनुसार कुनै निर्णय गरेको छैन । के सरकार स्थानीय तहको चुनावलाई पन्छाउन खोजेको हो ? फेरि ५९ साल फर्काउन खोजेको हो कि गम्भीर आशंका पैदा भएका छन् । त्यो हुन पाउँदैन । त्यो हुन दिइँदैन । त्यो एकदमै गलत हुन्छ । समयमा स्थानीय तहको चुनाव हुनुपर्छ । नेकपा (एमाले)को प्रष्ट मान्यता छ’ उनले भने ।

उनले सरकारले ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणका दोषीलाई उम्काउने प्रपञ्च गरेको बताए । सिआइबीले दुई वर्ष लगाएर गरेको अनुसन्धान सरकारी वकिलको कार्यालयले फिर्ता गरेर भ्रष्टाचारीलाई ढाकछोप गर्न खोजेको उनले बताए । 



सरकारी वकिलको कार्यालयले अधिकारको दुरुपयोग गरेको उनको भनाइ छ । सरकारी वकिलको कार्यालयबाट मुद्दा ढिसमिस पार्न लागिएकाले यसविरुद्ध एमालेले सशक्त दबाब सिर्जना गर्ने उनले बताए । 

‘सिआइबीले २ वर्ष लगाएर असाध्यै मेहनतपूर्वक अध्ययन गर्यो‍ । दोषीको लिस्ट बनायो । तर अस्ति अचानक सरकारी वकिलको एउटा निर्णयले दुई वर्षदेखि प्रहरीले गरेको सारा मेहनतलाई पानी खन्याउने काम भएको छ । सरकारी वकिललाई मुद्दा चलाउन पाउने कि नपाउने भनेर दिइएको अख्तियारी अथवा अधिकार भ्रष्टाचारलाई ढाकछोप गर्न, अपराधीलाई उम्किनको निम्ति लाइसेन्स होइन । यो ढंगले दुरुपयोग गर्न मिल्दैन । दुरुपयोग गर्न पाइँदैन' उनले भने ।

 

  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १७:५६:१,   अन्तिम अपडेट : पुस ३०, २०७८ शुक्रबार १७:५९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया