कोरोनाको तेस्रो लहरको प्रतिकार्यका लागि प्रदेश १ ले गर्‍यो सरोकारवालासँग छलफल
फरकधार / ३० पुस, २०७८
फाइल तस्वीर

प्रदेश १ सरकारले कोभिड १९ को तेस्रो लहरको संक्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा सरोकारवालासँग छलफल थालेको छ । प्रदेश सरकारले कोरोना संक्रमणको सम्भावित तेस्रो लहरको प्रतिकार्यका लागि राजनीतिक दल र अन्य सरोकारवालासँग छलफल थालेको हो । 



प्रदेश १ सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री राजेन्द्र राईले कोभिडको सम्भावित तेस्रो लहरको संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि राजनीतिक दलको सहयोगको खाँचो देखिएकाले छलफल आयोजना गरिएको बताए । उनले राजनीतिक दलहरूको दलीय संयन्त्र आधारभूत तहसम्म हुने भएकाले दलहरू र तिनका भ्रातृ संगठनको परिचालनले रोगविरुद्ध लड्न सकिने विश्वास व्यक्त गरे ।

सरकारको प्रयासमा दलहरूले साथ दिए कोभिडविरुद्ध तय गरिएका योजना सफल हुने मुख्यमन्त्री राईले बताए । उनले प्रदेश १ मा खोपको पर्याप्त व्यवस्था भए पनि पछिल्लो समय खोप लगाउन आउने संख्यामा कमी आएकोमा राजनीतिक दलहरूलाई यसप्रति जागरण पैदा गरिदिन उनले अपिल गरे ।

छलफलमा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले कोभिड रोगविरुद्ध संघ, प्रदेश र स्थानीय तीनै तहको सरकार मिलेर लड्नुपर्ने धारणा व्यक्त गरे । उनले रोगविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई बुस्टर डोजका रुपमा दिइने खोप दिन सरकार प्रतिवद्ध रहेको बताए । उनले रोगको संक्रमण फैलिएको अवस्थामा एकले अर्कामा जिम्मेवारी पन्छाएर भन्दा पनि मिलेर अघि बढ्न आग्रह गरे ।



सामाजिक विकास मन्त्री जयराम यादवले रोगको संक्रमण फैलिएको अवस्थामा राजनीतिक दलहरूलाई भीडभाड हुने खालको कार्यक्रम नगरी दिन अपिल गरे । उनले विगतमा आफूहरू सरकारमा नभएको अवस्थामा पनि कोभिडविरुद्धको अभियानमा आफ्नो राजनीतिक दलको तर्फबाट गरेको सहयोगको स्मरण गर्दै रोगको जोखिमको अवस्थामा कसैबाट पनि गैरराजनीतिक चरित्रको अपेक्षा नभएको स्पष्ट पारे ।

  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार २०:२७:२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया