खानेपानीमन्त्री भन्छन् - घोषित समयमै मेलम्चीको पानी काठमाडौं ल्याउँछौँ
फरकधार / ३० पुस, २०७८
फाइल तस्वीर

खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको खानेपानी काठमाडौं ल्याउने बताएका छन् ।



शुक्रबार सिंहदरबारमा भएको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका हुन् । उनले आफ्नो मन्त्रालयका कर्मचारी दिनरात खानेपानीको काममा खटिरहेकोले अस्थायी रूपमा नै भए पनि सरकारले तोकेको समय सीमाभित्र मेलम्चीको खानेपानी काठमाडौं आउने बताए । 

मन्त्री चौधरीले पानीको मुहान र जलाधार संरक्षित नगरी दीर्घकालीन योजना सञ्चालन हुन नसक्ने बताए । मन्त्री चौधरीले खानेपानी कुनै पनि नागरिकले शुद्ध खानेपानी खानबाट वञ्चित हुन नपरोस् भन्ने कुरा कागजमा मात्रै नभइ कार्यान्वयन गरेर देखाउने बताए ।

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले बृहत् खानेपानी आयोजना सर्वेका लागि आफ्नो जिल्लामा हालसम्म कर्मचारी नै नपुगेको गुनासो गरिन् । उनले योजना आएको तीन वर्षमा सर्वे हुन नसकेको भन्दै जनतासमक्ष जान पनि लाजमर्दो भएको बताइन् ।



नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले खानेपानी मन्त्रालयले खानेपानीको बृहत् योजनाका लागि दीर्घकालीन र मध्यकालीन, तत्कालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए । उनले मन्त्रालयले अध्ययन गरेर दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने बताए । 

उनले सोलुखुम्बु, ओखलढुंगा र खोटाङको खानेपानी आयोजना हेर्नका लागि कार्यालय खोटाङको कुनामा राखेको भन्दै त्यसमा सच्याएर ओखलढुंगा तीनै जिल्लाका लागि पायक पर्ने भएकोले त्यहाँ कार्यालय स्थापना हुनुपर्ने माग गरे ।

नेकपा एमालेकी सांसद बिनाकुमारी श्रेष्ठले मेलम्ची खानेपानी साउनयता जनताले खान पाउनेरुपमा कुनै काम अघि बढ्न नसकेको बताइन् । उनले काठमाडौंका बासिन्दाले कहिलेसम्म मेलम्चीको खानेपानी खान पाउने हो भन्दै खानेपानी मन्त्रीलाई प्रश्नसमेत गरिन् ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एक घर एक धारा र जनसंख्याका आधारमा खानेपानी छुट्याउने कुरा एक आपसमा बाझिएको बताइन् । उनले खानेपानीको योजनामा लागतलाई आधार बनाएर काम अघि बढाउँदा राम्रो हुने बताइन् ।

कांग्रेसका सांसद बहादुर सिंह लामाले खानेपानी मन्त्रालयको कहिल्यै बिस्तृत योजना नभएको र सबैले गाली गर्न थालेको भन्दै मन्त्रालयको नाम फेरेर पिउने पानी मन्त्रालय राख्न सुझाव दिए । उनले खानेपानीको पाइप र ढलको पाइपहरु कहाँ छ भन्ने कुरा आधिकारिक मान्छेहरुलाई नै थाहा नभएको बताए ।

सांसद लामाले सरकार र मन्त्रालयसँग समन्वयकारी कुरा नै नभएको र एक अर्काले आरोप प्रत्यारोप लगाइरहेको बताए ।

  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार २०:३९:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया