कोरोना महामारीका बीच माघे संक्रान्तिको अवसरमा शनिबार जनकपुरधामका युवाले खिचडी भोजको आयोजना गरेका छन् ।
संस्कृति जोगाउने उद्देश्यका साथ यहाँका स्थानीय युवाले जनकपुरधामको जानकी चोकस्थित अंगराज सरको डिलमा खिचडी भोजको आयोजना गरेका हुन् ।
अंगराज सरको डिलमा विगत ८ वर्षदेखि खिचडी भोजको आयोजन हुँदै आएको छ । यस वर्ष पनि कोरोना महामारी पुनः अकालो लाग्ने क्रममा रहेकोले आफूहरुले स्वास्थ्य मापदण्डको पालना गरी भोजको आयोजना गरेको युवा अभियन्ता सुशील कर्णले बताए । उनले भाइचारा र संस्कृतिलाई जोगाउनका लागि यो भोजको आयोजन हुँदै आएको जिकिर गरे ।
खिचडी भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको अटुट माध्यम रहेकोले आफूहरूले प्रत्येक वर्ष यो भोजको आयोजना गर्दै आएको उनले बताए । स्थानीय जानकी चोकका दुई दर्जन युवाहरूको समन्वयमा खिचडी भोजको आयोजना गरिएको कर्णले जानकारी दिए ।
खिचडी भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको एउटा अटुट माध्यम रहेको बताउँदै यसको निरन्तरता हुनुपर्ने स्थानीय आलोक कर्णले जोड दिए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साहले सामजिक चाडपर्व संस्कृति जर्गेनाको अटुट माध्यम रहेकोले यस प्रकारका क्रियाकलापतर्फ युवाको ध्यानाकर्षण हुनु सराहनीय रहेको बताए ।
त्यस्तै, नेपाली कांग्रेसका नगर उपसभापति राकेश विक्रम साहले कोरोना महामारीका बीच यस्ता कार्यक्रम स्वास्थ्य मापदण्डको पालना गरेर आयोजना गरिएको र जनकपुरधामतर्फ अहिले कोरोनाको कुनै खासै त्रास नरहेकोले युवाहरुले संस्कृति, चाडपर्वतर्फ समेत ध्यान पुर्याउनु तारिफयोग्य रहेको बताए ।
भोजमा सहभागीहरुलाई खिचडी, पापड, अचार, दही, तीललगायतको परिकार खुवाइएको थियो । भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीयबासी, सञ्चारकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।