१४ टन सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान

करिब १४ टन सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वको टोली आज बिहान सहायता सामग्रीसहित अफगानिस्तानको राजधानी काबुल प्रस्थान गरेको छ ।

काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ता कपडा, भाँडाकुँडालगायत सामग्री नेपालले सहयोग गरेको बताए । उनका अनुसार खाद्यान्नबाहेकका यी सामग्री करिब १४ टन रहेको छ । 

सहायता सामग्री संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने तालिका छ । मन्त्री खड्काले नेपालको इतिहासमा पहिलोपटक हवाईजहाजमार्फत मानवीय सहायता सामग्री अन्य राष्ट्रलाई सहयोगस्वरूप पठाउन लागेको बताए ।

‘हामी ठूला प्राकृतिक तथा दैविक विपदमा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौं, तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ,’ उनले भने । 

सहायता सामग्री अफगानिस्तानसम्म पुर्‍याउन हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान सहयोग गरेको बताइएको छ । 





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १०:३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया