प्रमुख प्रशासकीय अधिकृत नहुँदा जयपृथ्वी नगरपालिकाको कामकाज प्रभावित

बझाङको जयपृथ्वी नगरपालिकाको कामकाज प्रभावित भएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीको उपसचिवमा बढुवापछि नगरपालिकाको कामकाज प्रभावित भएको हो । 

असोजपछि जयपृथ्वी नगरपालिकाको आर्थिक तथा अन्य कामकाज हुन सकेको छैन । कामका लागि नगरपालिका पुग्ने सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएका छन् । जयपृथ्वी नगरपालिका–५ का स्थानीय झलकबहादुर सिंहले सेवा लिनका लागि पटकपटक कार्यालय पुग्दा पनि लामो समयदेखि काम भने हुन नसकेको बताए । उनले प्रमुख प्रशासकीय अधिकृत नभएका कारण रित्तो हात फिर्ता हुनु परेको पनि बताए ।

‘सम्झौता भएको रकम लिनुपर्ने थियो । पटकपटक नगरपालिका पुगेर फिर्ता हुनु परेको छ । यस विषयमा नगरपालिकाका जनप्रतिनिधिहरूले चासो दिएको भए नागरिकले यस्तो समस्या भोग्नु पर्दैन थियो होला,’ सिंहले भने ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शाही अहिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएर गएपछि जयपृथ्वी नगरपालिकाको प्रशासन प्रमुखविहीन भएको छ । नगरपालिकाको निमित्तको जिम्मेवारी लेखा अधिकृत लालबहादुर खातीलाई दिएको भएपनि अन्य आर्थिक कारोबार गर्ने अधिकार नभएका कारण सेवाग्राहीलाई समस्या भएको हो ।

अहिले नेकपा एमाले र समाजवादी समर्थक आफू सुहाउँदो प्रमुख प्रशासकीय अधिकृत ल्याउनका लागि दौडधुपमा व्यस्त भएकाले पनि नगरपालिकाको कामकाज प्रभावित भएको सेवाग्राहीको आरोप छ । 

‘एउटा भएको प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा नागरिकको काम प्रभावित हुँदासम्म पनि नगरपालिकाको जनप्रतिनिधिहरूले ध्यान दिन सकेका छैनन्,’ स्थानीय दिर्घराज उपाध्यायले भने, ‘कर्मचारी सरुवा गरेपछि लगत्तै पठाउनुपर्ने हो, तर मन्त्रालयले पनि कुनै ध्यान दिएको छैन । अधिकृतको टुङ्गो नलाग्दासम्म निमित्तलाई जिम्मेवारी दिए पनि हुने ।’ 



प्रमुख प्रशासकीय अधिकृत नभएका कारण योजनाको कामसमेत लथालिङ्ग अवस्थामा रहेको जयपृथ्वी नगरपालिका–१० का वडाध्यक्ष दलबहादुर विष्टले बताए । ‘प्रमुख प्रशासकिय अधिकृत नहुँदा कर्मचारीहरुले तलब पाएका छैनन् । योजनाका काम गरेकाहरूले भुक्तानी लिन सकेका छैनन् । नगरपालिकाका सबै कामकाज लथालिङ्ग अवस्थामा छ,’ उनले भने ।

यता निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीले भने केही काम प्रभावित भएपनि अहिले योजनाका कामहरू सम्झौता गर्ने प्रकृयामा रहेको प्रतिक्रिया दिए । जयपृथ्वी नगरपालिकाअन्तर्गत झण्डै १२ सयभन्दा बढी योजना रहेका छन् । 



जिल्लाका दुई नगरपालिका र १० वटा गाउँपालिका गरी १२ स्थानीय तह रहेका छन् ।  

  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार ११:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया