सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान

अफगानिस्तानी जनताका लागि सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ । 

आइतबार परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानिस्तानी जनतालाई आवश्यक औषधि, घरायसी सामग्री र लत्ता कपडा बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको हो । 

अफगानिस्तानमा गत अगस्टमा तालिबानले आफ्नो हातमा सत्ता लिएपछि त्यहाँ आर्थिक तथा मानवीय संकट उत्पन्न भएको छ । अफगानिस्तानमा हाल खाद्यान्नको अभाव हुनुका साथै लाखौं बालबालिकालाई कुषोषण हुन थालेको छ । 

संयुक्त राष्ट्रसंघले नेपाल सरकारलाई अफगानिस्तानमा सहायता सामग्री पठाउन अनुरोध गरेसँगै नेपालमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रहरूको अग्रसरतामा सहायता सामग्री पठाइएको हो । 

टोलीमा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधिका साथै पत्रकारहरू समेतको सहभागिता रहेको छ । 

टोली अफगानिस्तान प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघले दिएको सूची अनुसार औषधि, घरायसी सामग्री र लत्ता कपडाहरू लिएर नेपाली टोली जाँदै गरेको जानकारी दिए ।



नेपाली टोली हिमालय एयरलाइन्सको जहाजबाट प्रस्थान गरेको हो । सहायता सामग्री काबुलस्थित संयुक्त राष्ट्रसंघको प्रतिनिधिलाई हस्तान्तरण गरेसँगै टोली आइतबार (आजै) नै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 



  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार ११:५०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया