भूकम्पीय जोखिम न्यून गर्न भवन संहिताको पालना गरौँ : प्रधानमन्त्री
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भवन संहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले भूकम्पलगायतका विपद् जोखिमबाट बच्नका लागि पनि सबैले भवन संहिताको पूर्ण पालना गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारेका हुन् ।

२४ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर आइतबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई ‘भर्चुअल’ माध्यामबाट सम्बोधन गर्दै उनले विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर स्थानीय तहले पनि भवन निर्माण गर्दा भवन संहिताको पूर्ण पालना गराउनुपर्नेमा पनि जोड दिए ।

प्रधानमन्त्री देउवाले विगतको अनुभव र पाठबाट सिकेर विपदका बेला तत्काल दक्ष जनशक्तिको परिचालन हुने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिए । उनले सुरक्षित भवन निर्माण गर्ने र भूकम्पसहितका विपद् जोखिम न्यूनीकरण गर्ने कार्यमा तीनवटै तहको सरकारको बलियो सहकार्यको आवश्यकता पनि औँल्याए ।

'भूकम्प आफैँमा समस्या होइन । यसका समस्या हाम्रा कमजोर संरचना र अव्यवस्थित शहरीकरण हुन् । अब उप्रान्त सार्वजनिक होस् वा निजी भवन संरचना निर्माण गर्दा भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि राष्ट्रिय भवन संहिता परिपालना गरी भवनको नयाँ डिजाइन, स्वीकृत नक्साबमोजिम गुणस्तरीय भवन निर्माण गर्न स्थानीय तहले प्रभावकारी भूमिका खेल्न आवश्यक छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले भूकम्प प्रतिरोधी भवन निर्माण गरेर त्यसको जोखिम न्यूनीकरणको अभियानमा जुटन् प्रदेश र स्थानीय तहको सरकारलाई आग्रह गरे । उनले त्यसका लागि संघीय सरकारले आवश्यक कानुनको व्यवस्था गरेको पनि दावी गरे ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले स्थानीय तहले भवन संहिताको पालना गरेर भवन निर्माण गरिदिए विपद् जोखिम न्यूनिकरण कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने बताइन् । उनले संविधानले विपद् जोखिम न्यूनिकरणमा तीन वटै तहका सरकारले भूमिकालाई तोकि दिएपनि सोही अनुसारको काम हुन नसकेको बताइन् ।



मन्त्री झाँक्रीले भवन संहिताको पूर्ण पालना गरेर भूकम्प प्रतिरोधी भवन निर्माण गर्न पनि सबैलाई आग्रह गरिन् ।



  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १८:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया