पर्यटकीय स्थल खप्तडकाे अवस्था नाजुक, सम्बन्धित निकाय माैन
बर्सेनि कराैडाैंकाे बजेट विनियाेजन भए पनि पूर्वाधारहरू जीर्ण अवस्थामा
फरकधार / ३ माघ, २०७८

भूस्वर्गको उपमा पाएको पर्यटकीय स्थल खप्तडमा निर्माण भएका पूर्वाधारहरू संरक्षणको अभावमा अलपत्र परेका छन् । 



खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण गरिएका पर्यटकीय पूर्वाधारहरू उचित संरक्षण नहुँदा अलपत्र परेका हुन् । निकुञ्ज कार्यालय र पर्यटन बाेर्डले संरक्षणमा ध्यान नदिएपछि उक्त संरचनाहरू जीर्ण बन्दै गएका हुन् । 

खप्तड क्षेत्रको विकासका लागी बर्सेनि करोडौं बजेट विनियोजन हुने गरेको भए पनि निर्माण भएका पूर्वाधारहरूको संरक्षण नहुँदा अलपत्र अवस्थामा पुगेका हुन् । 



भौतिक संरचना अहिले गाई, भैंसी तथा घोडाहरूको बास स्थानमा परिणत भएका छन् । खप्तड क्षेत्रमा निर्माण भएका पर्यटकीय गेस्ट हाउस प्रतीक्षालय, भ्यू टावर, शाैचालय, धर्मशालाका साथै मन्दिरहरू संरक्षण नहुँदा केही संरचना भत्किएर काम नलाग्ने भएका छन् भने केही संरचना भत्कने अवस्थामा पुगेका छन् । 



पूर्वाधारकाे संरक्षणमा कसैको चासो पुगेकाे छैन । खप्तडको बीच टापुमा रहेको खप्तड बाबाको कुटीको पछाडि पट्टिको छाना जीर्ण अवस्थामा पुगेको छ । 

सामान्य पानी पर्दा पनि छाना चुहिने समस्या छ । खप्तडबाबाको कुटी हर्ने जानेहरूका लागि पनि यो संरचनाले गिज्याइ रहेको छ । साथै खप्तडबाबाले प्रयोग गर्ने शाैचालय पनि लथालिंग अवस्थामा छ ।

खप्तड ब्यारेक तथा त्रिवेणी क्षेत्रमा बनेका झण्डै एक दर्जनभन्दा बढी पर्यटकीय आवास गृह तथा धर्मशाला भवनका टिनका छाना समेत हावाले उडाएरको छ । केही भवनका ढोका समेत खुल्लै छन् । ढोका नहुँदा गाई गोरुले धर्मशाला भवनभित्र नै दिशा पिसाब गरी फोहर बनाएका छन् । यसका साथै केही भवनका वालहरू समेत चर्केका छन् । 

खप्तड क्षेत्रमा पर्यटकहरूलाई थकाइ मेटाउन बनाइएका अधिकाशं प्रतिक्षालयहरूमा राखेका टिनका छानाहरू हावाले उडाएको देखिन्छ । केही प्रतिक्षालयहरू गाई भैंसीको विश्राम कक्षमा परिणत भएका छन् । 

खप्तडका पाटनमा रहेका अग्ला थुम्काहरूमा बनाइएका भ्यू टावरका काठले बनाएका बल्लीहरू समेत मक्किएका छन् । खप्तड क्षेत्रमा पर्यटकहरूका लागि बनाइएकाे साइनबाेर्डका अक्षर तथा संकेत मेटिएका छन् ।

बर्सेनि खप्तडको विकासका लागी करोडौं बजेट विनियोजन हुने गरेको भए पनि आवश्यकता अनुसार भौतिक पूर्वाधार निर्माण हुन नसक्दा तथा भएका पूर्वाधारहरूकाे मर्मतसम्भार नहुँदा  खप्तडको स्वरूप नै कुरूप भएकाे स्थानीयहरूकाे भनाइ छ । 

निर्माण भएका पूर्वाधारहरूलाई व्यवस्थित गर्न नसक्दा फेरि पूर्वाधारको विकासमा लगानी गर्नु ब्यर्थ भएको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले बताए । 

अहिलेसम्म बनेका पूर्वाधारहरूलाई मात्र पनि व्यवस्थित बनाई संरक्षण सम्बर्द्धन मात्र गर्न सकेको खण्डमा यहाँ अरू भवन निर्माण बनाउन जरुरी नभएको अध्यक्ष रोकायाकाे भनाइ छ । 

खप्तड क्षेत्रको संरक्षणको लागि नेपाली सेनाको २१८ जना दरबन्दी रहेको गुल्म समेत छ । यसका साथै ७३ जना निकुञ्जका कर्मचारी दरबन्दी र खप्तड पर्यटन विकास समिति, मध्यवर्ती क्षेत्र संरक्षण समिति लगायत झण्डै ३ सयको हाराहारीमा कर्मचारी छन् । तर, यहाँको पूर्वाधारहरूको संरक्षणमा सबै निकायहरूले केही गरेकाे देखिँदैन।

संरक्षणको दायित्व हाम्रो होइन : निकुञ्ज

खप्तड राष्ट्रिय निकुञ्जका रेन्जर केदार दासले यी पर्यटकीय पूर्वाधारहरूको संरक्षण गर्ने दायित्व निकुञ्जको नभई पर्यटन विकास समितिको भएको समेत बताए । 

निकुञ्जको जैविक विविधता, वन्यजन्तुका साथै जडिबुटीको मात्र संरक्षण गर्ने दायित्व निकुञ्जको भएकाे उनकाे भनाइ छ । 

बर्सेनि निकुञ्जले खप्तड घुम्ने पर्यटकहरूबाट प्रति व्यक्ति एक सय रुपैयाँ प्रवेश शुल्क लिएर बर्षेनी २५ देखि ३० लाखसम्म रकम असुल गर्दै आइरहेकाे छ । खप्तड क्षेत्रको संरक्षण, सम्वर्द्धनका लागि भने निकुञ्जले पन्छिन नमिल्ने यहाँका स्थानीयवासी बताउँछन् ।

खप्तड मध्यवर्ती क्षेत्रका स्थानीयवासी गजेन्द्र रावलले भने, ‘कि त निकुञ्जले शुल्क उठाउनु भएन।  बर्सेनि ३० लाख पर्यटन शुल्क उठाउने, संरक्षण गर्ने जिम्मा हाम्रो होइन भन्नु गैरजिम्मेवारीपन हो।’ 

यता खप्तड क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष भीमबहादुर खड्काले खप्तड क्षेत्रमा बनेका पर्यटकीय पूर्वाधारहरूको संरक्षण गर्ने जिम्मा निकुञ्ज, समिति, नेपाली सेना र मध्यवर्ती क्षेत्र विकास समिति सबैको भएको बताए । 

विगत चार पाँच वर्षदेखि खप्तड पर्यटन विकास समिति पदाधिकारीविहीन रहेकाले यस्तो भएको बताउँदै अब तत्कालै यसको संरक्षणका लागी योजना बनाएर अगाडि बढ्ने उनले भनाइ छ।

  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १०:५४:३८,   अन्तिम अपडेट : माघ ३, २०७८ साेमबार ११:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया