प्रदेश २ का यी ५ सांसद जो मतदानमा सहभागी भएनन्

प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि सोमबार भएको मतदानमा ५ जना प्रदेशसभा सदस्य अनुपस्थित रहेका थिए । प्रदेशको नाम र राजधानी तोक्न सोमबार भएको मतदानमा ९९ जना सांसदहरु मात्र मतदान प्रक्रियामा सहभागी भए । जबकि प्रदेश २ मा सांसदको संख्या १०४ रहेको छ । 

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित नेकपा एकीकृत समाजवादीका सांसद डिल्लीप्रसाद उप्रेती र सोही पार्टीका सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित गोविन्दबहादुर न्यौपाने सोमबार बसेको प्रदेशसभा बैठकमा अनुपस्थित रहेका थिए ।
 
त्यस्तै, नेपाली कांग्रेस बाराका सांसद शोभा लामा, नेकपा एमाले धनुषाका अनिताकुमारी यादव तथा जनता समाजवादी पार्टी नेपाल महोत्तरीका सांसद डा. रिना यादवसमेत अनुपस्थित रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
 
सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम राख्ने प्रस्ताव बहुमतका साथ पारित गरेको हो ।

नामकरणका लागि भएको मतदानमा ९९ सांसद सहभागी भएकामध्ये ८० जनाले मधेसको पक्षमा मतदान गरेका थिए भने ७८ जनाले राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए ।





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार २०:९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया