राष्ट्रियसभा निर्वाचन : चुनौतीपूर्ण प्रदेशमा सत्ता र विपक्षी गठबन्धन चुनावी रस्साकसीमा

१९ पदका लागि राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ मा हुँदै छ । निर्वाचनमा प्रतिस्पर्धा नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सत्तारूढ गठबन्धन र एमाले नेतृत्वको दुई दलीय विपक्षी गठबन्धनबीच हुने भएको छ ।

निर्वाचनमा जितका लागि दुवै गठबन्धनले प्रचारप्रसार अभियानलाई तीब्रता दिएका छन् । उम्मेदवारहरूको सहभागितामा मतदाताहरू स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र प्रदेश सांसदसँग भेटघाट गर्ने र भोट माग्ने कार्यक्रम गरिरहेका छन् ।
 
दुवै गठबन्धनले जितलाई सर्वाधिक चुनौतीपूर्ण मानेको प्रदेश १ लाई हो । यही प्रदेशमा दुवै गठबन्धनको बढी ध्यान केन्द्रित छ । आक्रमक चुनावी अभियान सञ्चालन गरिररहेका छन् । जिल्ला-जिल्लामा पुगेर उम्मेदवारहरूलाई मत मागिरहेका छन् । 

आफ्ना उम्मेदवारले जित्नेमा ढुक्क हुने स्थितिमा दुवै गठबन्धन देखिएका छैनन् । मतभार थोरैले तलमाथि छ । रातारात प्रभावित भएको खण्डमा नसोचेको मत परिणाम आउने सक्ने स्थिति छ ।

 निर्वाचन मामिलाका जानकारहरूका अनुसार मत प्रभावित हुने आधारहरू पैसा र प्रलोभन हुन् । यी दुई कारणबाट आर्थिक रूपले विपन्न, वैचारिक रूपले अस्पष्ट र ढुलमुले प्रवृत्तिका मतदाताहरू प्रभावित हुन्छन् ।
 
त्यहीँ भएर मतदाता एकातिर जोगाउन र अर्कातिर भिन्न गठबन्धननिकट मतदातालाई प्रभावित पार्न दुवै गठबन्धन लागेका हुन् । 

प्रदेश-१ का कांग्रेस सभापति उद्धव थापाले सत्तारूढ गठबन्धनले सोमबार प्रदेश राजधानी मोरङदेखि मत माग्ने अभियान सुरु गरेको जानकारी दिए । उनका अनुसार मंगलबार उदयपुरमा मत माग्ने कार्यक्रम रहेको छ । 

यसअघि सुनसरीमा मत मागिसकिएको छ । बुधबार भने इलाममा मत पुगेर त्यहाँका मतदाताहरूसँग मत मागिने सभापति थापाले फरकधारलाई बताए । 



मत माग्ने टोलीमा थापासँगै माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्बाङ ‘मिक्सो’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष बलदेव चौधरी, जसपा प्रदेश अध्यक्ष प्रवीन राई र राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष अमृत पाण्डे छन् । 

उनीहरूसँगै राष्ट्रियसभा सदस्य पदका उम्मेदवारहरू गोपालकुमार बस्नेत, जयन्ती राई र हेमराज राई छन् । 



उम्मेदवारमध्ये गोपाल कांग्रेस, जयन्ती नेकपा (एकीकृत समाजवादी) र हेमराज जसपाका हुन् । 
प्रदेशमा सत्तारूढ गठबन्धनले चार हजार ६६८ मतभार रहेको दाबी गरेको छ । सोहीअनुसार मत खसेको अवस्थामा २४ मतभारले निर्वाचन जितिने थापाले बताए ।
 
र, १२० मतभार भएको राप्रपाको गठबन्धन एमालेसँग भएको छ । यसपछि यही विपक्षी गठबन्धनको बढी मतभार भएको कतिपयको अनुमान छ । 

यही विषयमा एमालेका संघीय सांसद घनश्याम खतिवडालाई सोध्यौँ, - एमाले नेतृत्वको विपक्षी गठबन्धनले प्रदेशमा दावी गरेको मतभार कति हो ? 

उनले मतभार यकिन गर्न बाँकी रहेको बताए । 

‘हामी हाम्रा मतदातालाई जोगाउनेतिर लागेका छौँ । २७ गते सकिएको जिल्ला अधिवेशनमै हामीले हाम्रा मतदातादेखि नेताहरूलाई सचेत गराएका छौँ र हामी जित्ने गरिको स्थितिमा छौँ र ठ्याक्कै यति नै हो हाम्रा मतभार भन्ने यकिन हुन बाँकी छ’, सांसद खतिवडाले भने ।
 
एमालेले नेकपा (एकीकृत समाजवादी) मा गएका जनप्रतिनिधिलाई फर्काउने काम गरिरहेको उनकाे भनाइ छ । 

‘निर्वाचनमा हामी (एमाले) ले प्रदेश १ मा जित्नैपर्छ’, उनले भने, ‘त्यही ढंगको तयारी स्वरूपमा एमालेबाट पहिले निर्वाचन जितेका र अहिले पार्टी छाडेकाहरूलाई फर्काउँदैछौँ । यसबीचमा केहीलाई फर्कायौँ पनि ।’ 

एमालेले झापा, मोरङ, सुनसरी, इलाम पाँचथरलगायत जिल्लामा उम्मेदवारसहित मत माग्ने काम गरिरहेको जनाएको छ । प्रदेशका अन्य जिल्लामा पनि मत माग्ने एमालेको तयारी छ । 

प्रदेश संयोजक तुलसी न्यौपानेको ‘कमाण्ड’मा प्रदेशबाट भएका संघीय सांसद, पार्टी पदाधिकारी, स्थायी कमिटी सदस्य, केन्द्रीय कमिटी सदस्यसहितका नेताहरू चुनावी अभियानमा छन् ।

एमालेसँगको गठबन्धन गरेको राप्रपा एक्लै चुनावी अभियानमा छ । उक्त पार्टीको प्रदेश संसदमा एक जना सांसद र स्थानीय तहका चार जना जनप्रतिनिधि छन् ।

फरकधारले गरेको खोजअनुसार प्रदेशमा पहिलो दल रहेको एमालेको स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष १४६ जना छन् । उनीहरूको कूल मतभार दुई हजार ६२८ हो ।

प्रदेशमा ४१ जना एमालेका सांसद छन् । मतभार उनीहरूको एक हजार ९६८ हुन आउँछ । दुई तहको गरी एमालेको जनप्रतिनिधिको मतभार चार हजार ५९६ छ । 

हालै एक प्रदेश सांसद र चार स्थानीय तहका जनप्रतिनिधिको १२० मतभार भएको राप्रपा एमालेसँगको गठबन्धनमा जोडिएको छ । यसआधारमा एमाले र राप्रपा रहेको विपक्षी गठबन्धनको मतभार चार हजार ७१६ हो । 

अर्कोतिर सत्तारूढ गठबन्धनमा रहेका कांग्रेसको स्थानीय तहको प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष ९६ जना, माओवादी केन्द्रको १४ जना, नेकपा (एकीकृत समाजवादी) पार्टीको १० र जनता समाजवादी पार्टीको ४ जना गरी १२४ जना छन् । उनीहरूको मतभार दुई हजार २३२ हो। 

प्रदेशभरको कुनै स्थानीय तहमा अध्यक्ष/उपाध्यक्षसमेत नभएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि प्रदेश संसदमा भने गठबन्धनमा समाहित छ । मञ्चकी एक सांसद विष्णुमाया तुम्बाहाम्फे हाल राज्यमन्त्री छिन् । यसरी मञ्च पनि रहेको गठबन्धनमा ५० सांसद छन् । उनीहरूको मतभार दुई हजार ४०० छ । 

गठबन्धनको स्थानीय र प्रदेशको जनप्रतिनिधिको मतभार चार हजार ६३२ छ । तर, कांग्रेस प्रदेश १ का सभापति थापाले भने चार ६६८ मतभार भएको दाबी गरे । उनकै दाबीलाई आधार मान्दा पनि हालको गणित अनुसार एमाले र राप्रपा रहेको विपक्षी गठबन्धनलाई जित्न सहज देखिएको छ। 

निर्वाचन भने राष्ट्रियसभा सदस्यहरू अगमप्रसाद बान्तवा, नैनकला ओझा र परशुराम मेघी गुरुङको २० फागुनमा चार बर्से पदावधि सकिने भएपछि हुन लागेको हो । उनीहरू नेकपा एमालेका हुन् ।

उनीहरूको स्थानमा हुन लागेको निर्वाचनमा एमालेले अल्पसंख्यक र अपाङ्गता क्लस्टरबाट सोनाम ग्याल्जेन शेर्पा, अन्यतबाट देवराज घिमिरे र महिलाबाट सुमित्रा भण्डारीलाई उम्मेदवार बनाएको छ। 

राप्रपाले अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ । उम्मेदवारी दर्तापछि भने एमाले र राप्रपाबीच चुनावी गठबन्धन हुने भएको छ । गठबन्धन हुँदा राप्रपाले एक उम्मेदवार पाउने भएको छ । 

राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधानका अनुसार राप्रपालाई अन्यतर्फको उम्मेदवार बनाउन एमालेले दिने समझदारी भएको छ । 

त्यसो भएको खण्डमा विपक्षी गठबन्धनबाट अन्यतर्फको उम्मेदवार विष्ट हुन सक्छन् । एमालेका घिमिरे नहुन सक्छन् । र, राप्रपाकी प्याकुरेल पनि उम्मेदवार हुनबाट वञ्चित हुने देखिन्छ । 

  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १२:३५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया