बझाङमा हालसम्म ५५ हजारभन्दा बढी नागरिकले पाए काेराेनाकाे पूर्ण खोप
१५ हजारभन्दा धेरै बालबालिका खोप लगाउनबाट वञ्चित

बझाङमा हालसम्म ५५ हजारभन्दा बढी नागरिकलाई कोरोना भाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । १८ वर्षभन्दा माथिका १ लाख ७ हजार ९१७ जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने लक्ष्य अनुसार हालसम्म ५५ हजार ७२२ जनाले मात्र पूर्ण मात्रा खोप पाएका हुन्।

जिल्लामा ७६ हजार ५३१ जनालाई पहिलो मात्रा खोप दिइएको र दोस्रो मात्रा खोप लगाउने अभियान जारी रहेको स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य अधिकृत नम्रता बोगटीले बताइन् ।

उनले भनिन्, ‘अझै जिल्लामा १८ वर्षभन्दा माथिका ३१ हजार ३८६ जनालाई पहिलो मात्रा खोप लागउनै बाँकी रहेको छ । अहिले पनि जिल्लाका विभिन्न स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा कोरोनाको खाप लगाउने अभियान जारी नै छ ।’

जिल्लाका १२ वटा पालिकाहरूमध्ये वित्थडचिर गाउँपालिकामा ९ हजार ४३५ लक्षित संख्या रहेकोमा हालसम्म ६ हजार ८३३ जनाले पहिलो मात्रा र ४ हजार ८५३ जनाले दोस्रो मात्राको खोप पाएका छन् । छविस पाथिभेरा गाँउपालिकामा ९ हजार १३ जना लक्षित संख्या रहेकोमा ४ हजार ६७७ जनाले पहिलो मात्रा र ३ हजार ९२० जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।

यस्तै दुर्गाथली गाउँपालिकामा ५ हजार ४०९ जनाले पहिलो मात्रा र ३ हजार ७०३ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । दुर्गाथली गाउँपालिकामा १८ वर्ष माथिका खोप पाउने लक्षित जनसंख्या ७ हजार ६० जना रहेको छ । 

यसैगरी जिल्लाको सवैभन्दा दुर्गम पालिका मानिने साइपाल गाउँपालिकामा १ हजार ६३२ जना लक्षित जनसंख्या रहेकोमा अहिलेसम्म १ हजार ६०६ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने दोस्रो मात्राको खोप लगाउनेको संख्या १ हजार ६२२ जना रहेका छन् । केदारस्यू गाउँपालिकामा हालसम्म ७ हजार ३५२ जनाले पहिलो मात्रा र ३ हजार ६७४ जनाले दोस्रो मात्रा लगाएका छन् । खप्तड छान्ना गाउँपालिकामा  ७ हजार ४३० जनाले पहिलो र ४ हजार ८१३ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । 



मष्टा गाउँपालिकामा ५ हजार ५१३ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने ३ हजार ८४३ जनाले दुवै मात्रा खोप लगाएका छन् । सुर्मा गाउँपालिकामा ३ हजार ४४० जनाले पहिलो र २ हजार ६०४ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । तल्कोट गाउँपालिकामा ५ हजार १७८ जनाले पहिलो मात्रा र ४ हजार २०५ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । 

यता जयपृथ्वी नगरपालिकामा १३ हजार ७४ जनाले कोरोनाको पहिलो मात्रा खोप लगाएका छन् भने १० हजार ४३० जनाले दोस्रो मात्राको खोप लगाएका छन् । उता थलारा गाउँपालिकामा ५ हजार ८४१ जनाले पहिलो मात्रा र ४ हजार ५३ जनाले दोस्रो मात्राको खोप पाएका छन् । 



त्यसैगरी बुङ्गल नगरपालिकामा १० हजार १७८ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने ७ हजार ९१३ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । बुङगल नगरपालिकामा १८ हजार ४२२ जनालाई खोप दिने स्वास्थ्य कार्यालयको लक्ष्य रहेको छ । 

यस्तै जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ३९ हजार १४४ जनालाई कोरोना विरुद्धको मोर्डना खोप लगाउने लक्ष्य रहेकोमा हालसम्म जिल्लामा २४ हजार ४ जनालाई पहिलो खोप लगाइएको जनस्वास्थ्य अधिकृत बोगटीले बताए ।

पर्याप्त मात्रामा खोप नआएका कारण जिल्लाका १५ हजार १४० भन्दा धेरै बालबालिका खोप लगाउनवाट वञ्चित भएका छन् । उनीहरूका लागि खोपको माग भएको र खोप प्राप्त भएपछि खोप लगाइने स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

अहिलेसम्म बझाङमा ५ प्रकारका खोप दिइएको छ । बझाङमा कोभिशिल्ड र अस्ट्राजेनिकाको २७ हजार ४२ पहिलाे मात्रा र १९ हजार ४११ दोस्रा मात्रा लगाइएको छ । त्यसैगरी भेरोसेलको ४० हजार ९२४ पहिलो मात्रा खोप लगाइएको छ भने २७ हजार ७४५ दोस्रो मात्रा लगाइएको छ। ८ हजार ६६५ मात्रा जाेन्सन एन्ड जाेन्सन खाेप हालसम्म लगाइएको छ भने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि २४ हजार ४ डोज पहिलो मात्रा मोर्डना खोप लगाइएको स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य अधिकृत नम्रता बोगटीले बताइन् । 

उता बैतडीमा पनि ९९ हजार ७५९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्लामा १ लाख ३३ हजार ८८१ जनाले खोपको पहिलो मात्रा पाएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी चन्दन सुवेदीले जानकारी दिए ।

जिल्लाका १० वटै स्थानीय तहका वडाहरूमा रहेका खोप केन्द्रबाट अहिले पनि कोरोना विरुद्धको खोप अभियान सञ्चालन भइरहेको  सुवेदीले बताए । 

जिल्लामा १२ वर्षदेखि माथिका ३७.१ प्रतिशत नागरिकले कोरोनाविरुद्ध पूर्ण खोप पाएका छन् भने ४९.८ प्रतिशत नागरिकले खोपको पहिलो मात्रा पाएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।  

  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १३:१९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया