पछिल्ला केही दिन यता नेपालमा कोरोनाभाइरसका नयाँ संक्रमितको संख्या दिनहुँ १० हजारभन्दा बढी हुन थालेको छ । पछिल्लो एक साता यता दैनिक हजारौँ संक्रमित थपिएपछि नेपालमा कोरोनाका कारण चिन्ता र चासो बढ्न थालेको छ ।
मौसम परिवर्तन भएसँगै नेपालमा मौसमी रुघाखोकीका बिरामीको संख्या पनि बढिरहेको छ । अनि विश्वभर अहिले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितको संख्या पनि निकै बढिरहेको छ ।
मौसमी रुघाखोकीका कारण अहिले अस्पतालमा बिरामीहरुको चाप बढेको छ । कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण भएकाले पनि यसले नेपाल तथा काठमाडौं उपत्यकामा थप चिन्ता बढाएको छ । यही सन्दर्भमा अल्का अस्पतालकी चिकित्सक डा. रक्षा गौतमसँग गरिएको कुराकानीमा उनले ओमिक्रोनलाई लापरवाही गर्न नहुने बताएकी छिन् ।
पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्ट छिटो सर्ने भए पनि छिटो निको हुने अनुमान गरिएको छ । कतिपयले ४÷५ दिनमा नै ओमिक्रोन ठिक हुने अनुमान पनि गरिरहेका छन् । तर, डा. गौतमले चाहिँ यति छिटो ठिक हुन्छ भन्दैमा ओमिक्रोनलाई लापरवाही गर्न नहुने बताएकी छिन् ।
‘अहिले अस्पतालमा बिरामीहरुको चाप निकै बढेको छ,’ उनले भनेकी छिन्, ‘मौसमी परिवर्तनले हुने रुघाखोकी मात्रै नभएर अहिलेको यो कोभिड १९ को बिरामीहरुको चाप पनि त्यसमै मिसिएर हामीले हेरिरहेका छौँ दिनदिनै बढेको देखिराछौँ ।’
उनले यस्तो समयमा ज्वरो आउनु र नआउनुले धेरै कुरा निर्धारण गर्ने बताएकी छिन् । ‘मौसमी परिवर्तनले हुने लक्षणहरुमा ज्वरो आउँदैन बिरामीहरुलाई, सामान्य जिउ दुख्ने, रुघाखोकी, रुघामर्की एकदुई दिनमा आफै ठिक भएर जाने, घरको एउटा सदस्यलाई भएको हुन्छ, प्राय सबै सदस्यहरुलाई त्यस्तै लक्षण ट्रान्सफर भइरहेको हुन्छ,’ डा. गौतमले भनेकी छिन्, ‘ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नु प¥यो । फ्लुमा पनि इन्फ्लुयन्जा हो कि, कोभिड १९ हो कि, कोभिड १९ को डेल्टा हो कि, ओमिक्रोन हो कि त्यो छुट्याउन लक्षणकै आधारमा चाहीँ अलिकति गाह्रो छ । तर हामीले बिरामीको प्याटर्न हेर्दाखेरी चाहीँ फ्लु भएकाहरुलाई, इन्फ्लुयन्जा भएकाहरुलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडीको भाग दुख्ने, जिउ दुख्ने, झाडापखला लाग्ने, प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षण कोभिडमा मात्र देखिएको छ ।’
उनले यसपटक कोभिड भएकाहरुलाई पनि स्वाद तथा बास्ना गएको पनि बताएकी छिन् । तर, ओमिक्रोन संक्रमण हुँदा वा अहिले कोभिड हुँदा ठ्याक्कै छुट्याउन चाहिँ पिसिआर गर्नुको विकल्प नभएको उनले बताएकी छिन् ।
‘घाँटी दुख्दैमा, ज्वरो आउँदैमा वा रुघाखोकी लाग्दैमा ओमिक्रोन हो या डेल्टा हो या मौसमी परिवर्तनका कारण भएको फ्लू हो भन्ने छुट्याउन सकिँदैन,’ उनले भनेकी छिन्, ‘यसका लागि त पिसिआर गर्नैपर्छ ।’
उनले यस्तो समयमा पल्स अक्सिमिटरमा अक्सिजन चेक गर्दा अक्सिजनको मात्रा ९४ भन्दा कम हुन थाल्यो भने, सिटामोल खाँदा पनि लगातार तीन दिनभन्दा बढी ज्वरो आयो भने र शरीर अत्यन्त थाकेको छ भने बिरामी अस्पताल जानै पर्ने बताएकी छिन् ।
‘घरमा अक्सिजन नाप्दा अक्सिजनको मात्रा तलमाथि भएको छ तर, अक्सिजनको सिलिण्डर छ घरमा भनेर नबस्नू, एकपटक अस्पताल आउनुहोस्,’ उनले भनेकी छिन्, ‘डाक्टरले हेर्नुहुन्छ, छातीको एक्सरे गर्नुहुन्छ । निमोनिया भइसक्या छ कि छैन हामीले छुट्याउनुपर्ने हुन्छ । निमोनिया भएको बिरामीहरुलाई अस्पतालमै भर्ना गरेर उपचार गर्न म आग्रह गर्छु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।