अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीसँग ८ साता भिसा शुल्क नलिने

अष्ट्रेलियाले केही समयका लागि अब अन्तर्राष्ट्रिय विद्यार्थीसँग भिसा शुल्क नलिने भएको छ । विभिन्न देशबाट अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीले भिसाका लागि आवेदन दिँदा लाग्ने शुल्क अब ८ सातासम्म नलिने अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले घोषणा गरेका हुन् । 

बुधबार विहान अष्ट्रेलियाली राजधानी क्यानबेरामा मोरिसनले यस्तो घोषणा गरेका हुन् । उनले विद्यार्थीसँगै अष्ट्रेलियामा काम गर्न जानका लागि भिसा आवेदन दिनेहरुसँग पनि बुधबार (आज) देखि नै लागू हुने गरि १२ साता भिसा शुल्क नलिने घोषणा गरेका छन् ।

अहिले नेपाली तथा अन्तर्राष्ट्रिय विद्यार्थीले अष्ट्रेलिया अध्ययन गर्न जानका लागि ६ सय ३० अमेरिकी डलर भिसा आवेदन शुल्कका रुपमा बुझाउनु पर्ने हुन्छ ।

विश्व महामारी कोरोनाभाइरसका कारण अमेरिकामा विभिन्न उद्योग तथा क्षेत्रहरुलाई समस्या भएको भन्दै विद्यार्थीहरुले यो जटिल अवस्थामा पनि अष्ट्रेलियामा अध्ययन गर्नका लागि रुचि देखाएको भन्दै मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई धन्यवाद पनि दिएका छन् ।

‘धन्यवाद, फेरि अष्ट्रेलिया आएकोमा र अष्ट्रेलियालाई छानिरहेकोमा,’ उनले भनेका छन्, ‘यो समयमा हामीले विभिन्न क्षेत्रमा दक्ष जनशक्तिको अभाव महसुस गरिरहेका छौँ, यसलाई अब दुवै दक्ष जनशक्ति र विद्यार्थीहरुले थप सहज बनाउने अनुमान गर्न सकिन्छ ।’

यसअघि गत साता मात्र अष्ट्रेलियाले भिसा सिस्टममा परिवर्तन ल्याउँदै त्यहाँ काम गर्ने समयको सिमितता ४० घन्टालाई कायम नराख्ने निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १५:१७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया