निर्वाचनको तिथि भोलिसम्म घोषणा भएन भने हामी सडकमा जान्छाैं : नेता पाेखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दवाव दिएका हुन् ।

नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्र लागि परेको आरोप समेत लगाए । 

उनले निर्वाचन आयोगले भोलि (बिहीवार) सम्म स्थानीय तहको निर्वाचनको मिति नतोके सरकारविरुद्ध सडकमा जनता परिचालन गरेर निर्वाचनको मिति तोक्न बाध्य बनाउने चेतावनी पनि दिए ।

नेता पोखरेलले भने, ‘म भन्न चाहन्छु, नेकपा एमाले सर्वोच्च अदालतबाट जबरजस्ती गलत्याइएको दल हो । नेकपा एमाले चुनावको पक्षमा छ । चुनाव गराउन चाहन्छ । सरकारलाई कम्तीमा निर्वाचन आयोगले दिएको तिथि वैशाख १४ र २२/२३ गतेभित्र चुनाव गराउनको लागि म आह्वान गर्न चाहन्छु । निर्वाचनको तिथि भोलिसम्म घोषणा भएन भने सडकबाट जनता उरालेर परिचालन गरेर निर्वाचनको माग गर्न हामी सडकमा जान्छौँ । त्यसकारण स्थानीय तहको निर्वाचन नगराउने कुरा दिमागमा नसोचियोस् । पराजित मानसिकताले हाम्रो संविधान र कानुन, निर्वाचन प्रणाली कमजोर बनाउने प्रयत्न नगरियोस् ।’

नेता पाेखरेलले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी समेत गरे।
 





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १६:२७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया