बर्जु घटना छानबिन गर्न समिति गठन

बर्जु घटनाको विषयमा छानबिन गर्न सुनसरी प्रशासनले छानबिन समिति गठन गरेको छ । मंगलबार महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटना छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी सदस्य रहेको छानबिन समिति गठन भएको हो । 

समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । समितिले बुधबारबाटै काम थाल्ने बताइएको छ ।

यसैबीच सुनसरी प्रशासनले घटना सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त घटनामा बर्जु गाउँपालिकाको कार्यालय पूर्ण दोषी रहेको बताएको छ । महोत्सव आयोजकका रुपमा रहेको गाउँपालिकाले प्रशासनको निर्देशन अटेर गर्दा दुर्घटना भएको प्रशासनले निष्र्कष निकालेको छ ।  

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रशासनको परिपत्र र निर्देशन अटेर गरी गाउँपालिकाले आफुखुसी महोत्सव सञ्चालनमा ल्याएको बताए । महोत्सव रोक्न आफुहरुले गरेको प्रयासलाई गाउँपालिकाले बेवास्ता गरी मनोमानी गरेको उनले बताए । पत्रकारहरुको जिज्ञासामा प्रजिअ यादवले ठूलो हताहतीबाट जोगाउन आक्रोशित भीडमाथि बल प्रयोग गर्न नसकिएको जिकिर गरे । प्रहरी प्रशासनले संयमता अपनाउँदा मानवीय क्षति हुन नपाएको उनको दाबी छ । 

सुनसरी प्रशासनले महोत्सव रोक्न लिखित र मौखिक जानकारी गराए पनि गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीको हठका कारण दुर्घटना हुन पुगेको जनाइएको छ । महोत्सवमा बोलाइएका भोजपुरी कलाकार नआएपछि महँगो शुल्क तिरेर टिकट काटी भेला भएको भीड तोडफोड र आगजनीमा उत्रिएको थियो । 



सो क्रममा चारवटा भारतीय नम्बर प्लेटको स्कारपियो, एक थान मोटरसाइकलमा आगजनी भएको थियो । स्टेज तोडफोड र आगजनीको क्रममा भागदौड हुँदा दर्जनभन्दा बढी घाइते हुन पुगेका थिए । प्रहरीले भीड तितरवितर पार्ने क्रममा १५ सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो । 



  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार २०:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया