इजरायलमा श्रमिक पठाउन सुरु, श्रममन्त्री श्रेष्ठले गरे बिदाइ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भई पहिलो चरणमा इजरायल प्रस्थान गर्न लागेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गई बिदाइ गरेका छन् । 

निजी क्षेत्र तथा बिचौलियारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठसहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदूत हनान गोदर विमानस्थल पुगेका थिए । 
 
पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्जत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरे । विगतमा पनि नेपालीहरू इजरायल रोजगारीमा पठाउन पटक–पटक प्रयास भए पनि आफ्नो कार्यकालमा सफलता प्राप्‍त भएको उनले बताए । मन्त्री श्रेष्ठले इजरायल नेपालीहरूका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास व्यक्त गरे । 
 
६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा उनीहरु पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । 

यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मंसिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । 

छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।

इजरायल जाने नेपालीले मासिक करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् । मन्त्री श्रेष्ठले सुरक्षित, पारिश्रमिक तथा सेवा–सुविधाका हिसाबले आकर्षक गन्तव्य मुलुक खोजी गरिरहेको बताउँदै आएका छन् । 





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार २१:४४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया