कोरोना संक्रमण बढेसँगै व्यवसायीले सिर्जना गरे सिटामोलको कृत्रिम अभाव
सरकार भन्छ- अभाव छैन, १ करोड १० लाखभन्दा बढी मात्रामा सिटामोल मौज्दात छ

कोरोना संक्रमण उत्कर्षमा पुगेसँगै बजारमा पुनः सिटामोलको अभाव सिर्जना हुन थालेको छ । सिटामाेलकाे साँच्चिकैको अभाव नभएर औषधि व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेका हुन् ।

हरेक मेडिकलमा अहिले सिटामोल किन्न जाने बिरामीलाई रित्तो हात फर्काउने गरिएको छ । काेराेनाकाे दोस्रो चरणको लहरमा पनि यस्तो अभाव सिर्जना गरिएको थियो । 

अहिले पनि फार्मेसीहरूले सिटामोलको अभाव रहेको भन्दै बिरामीलाई फर्काउने गरेका हुन् । तर, सरकारले भने सिटामोलको अभाव नरहेको बताएकाे छ ।व्यवसायीहरूले सिटामोलको कृत्रिम अभाव सिर्जना गर्दै आएको भन्दै मन्त्रालयले त्यस्तो देखिएको खण्डमा स्थानीय प्रशासन वा प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ। 

एक करोड १० लाखभन्दा बढी मात्रा मौज्दात 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा सिटामोल लगायत कुनै पनि अत्यावश्यकीय औषधिको अभाव नभएको प्रष्ट पारेकाे छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सिटामोल लगायत कुनै पनि अत्यावश्यकीय औषधिको अभाव नभएको बताए ।

सरकारी स्टोर र औषधि बिक्री केन्द्र (फार्मेसी) मा गरी अहिले १ करोड १० लाखभन्दा बढी मात्रामा सिटामोल मौज्दात रहेको उनको भनाइ छ ।



डा. अधिकारीले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत पथलैया स्टोरमा १० लाख सिटामोल भण्डारण गरेर राखिएको जानकारी दिए । यस्तै सरकारी फार्मेसीहरूमा १ करोडभन्दा बढी मात्रामा सिटामोल मौज्दात रहेको अधिकारीको भनाइ छ ।
 
पारासिटामोल लगायत अत्यावश्यक औषधिको विवरण तत्काल अद्यावधिक गर्न सम्पूर्ण सरकारी अस्पताल, प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन गरिसकिएको उनले बताए । 

कुनै सरकारी अस्पतालमा पारासिटामोल कम हुन सक्ने अवस्था आएमा नेसनल औषधि लिमिटेडसँग सिधै सम्झौता गरेर खरिद गर्न सकिने उनको भनाइ छ । 



सिटामोल अभावबारे प्रधानमन्त्रीको चासो

सिटामोललगायत औषधिको अभाव भएको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवाले चासो व्यक्त गरेका छन् । उनले तत्काल औषधिको अभाव हुन नदिने व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले बजारमा सिटामोल लगायतका औषधिको अभाव भएको जानकारी आएको भन्दै त्यसको अभाव तत्काल अन्त्य गर्न गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदाश वैरागीलाई बोलाएर औषधि अभावका विषयमा के भएको हाे भनी अध्ययन गरेर तत्काल औषधि उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिएका थिए ।

त्यसलगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग लगायत औषधि उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेको थियो । 

सरकार र औषधि उत्पादकबीचको किचलो

बजारमा अहिले सिटामोलको अभाव सिर्जना हुनुको पछाडि अर्कै कारण छ । त्यो हो, सिटामोल उत्पादक कम्पनी र औषधि व्यवस्था विभागबीचको किचलो । 

एकातिर सिटामोल किन्न आउनेको माग ह्वात्तै बढेको छ । अर्कोतिर नेपाली औषधि उत्पादक कम्पनीहरूले क्षमता अनुसार औषधि उत्पादन गर्न सकिरहेका छैनन् । त्यसको प्रमुख कारण हो, मूल्य समायोजन नहुनु ।

२०६४ सालमा सरकारले सिटामोलको मूल्य प्रति गोटा एक रुपैयाँ तोकेको थियो । अहिले पनि त्यही मूल्य नै राखिएको छ । तर, कच्चा पदार्थको मूल्य भने ह्वात्तै बढेको छ। 

विदेशबाट आयात गरेर ल्याउने कच्चा पदार्थको मूल्य विगतको तुलनामा दोब्बरले बढेको नेपाल औषधि उत्पादन संघका अध्यक्ष नारायण क्षेत्री बताउँछन् । 

त्यो बेला कच्चा पदार्थको मूल्य प्रति किलो चार सय रुपैयाँ थियो । अहिले बढेर एक हजार पुगेको छ । उत्पादन लागत बढ्दै गए पनि सरकारले मूल्य समायोजना नगर्दा औषधि उत्पादकहरू घाटाको व्यापार गर्दै आएको उनको भनाइ छ । 

मूल्य समायोजन गर्न पटक-पटक माग गर्दै आएपनि सरकारले सुनुवाइ नगरेको उनले बताए ।

नेपालमा अहिले ९-१० वटा कम्पनीले सिटामोल उत्पादन गर्दै आएका छन् । जसले नेपाली बजारको ४५ प्रतिशत माग धान्दै आएको छ । क्षेत्रीका अनुसार प्रति गोटा सिटामोलको लागत नै डेढ रुपैयाँ पर्छ । तर, एक रुपैयाँमा बेच्दा उत्पादकले घाटा बेहाेर्नु परेको छ । मूल्य समायोजन हुन सकेन भने नयाँ मूल्यअनुसार कच्चा पदार्थ किनेर सिटामोल बनाउन सक्ने अवस्था रहेको छैन। । 

औषधि उत्पादक संघले मूल्य समायोजनका लागि औषधि व्यवस्था विभागलाई पटक-पटक पत्र पठाए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । 

‘सरकारसँग पटक-पटक मूल्य समायोजनको माग गर्दै आएका छौँ । अहिलेसम्म सुनुवाइ भएको छैन’, उनी भन्छन्, ‘मूल्य समायोजन गर्न सरकार पनि तयार छ । तर किन ढिलाइ गरिरहेको छ, त्यो हाम्रो जानकारीमा छैन ।’

सरकारले मूल्य समायोजन गरेको खण्डमा अभाव तत्काल कम हुने उनको बताए ।

‘सधैं घाटाको व्यापार त गर्न सकिँदैन । सरकारले मूल्य समायाेजन गर्न तत्काल पहल गर्नुपर्‍याे । समायाेजन गरे तत्काल अभाव कम हुन्छ’, उनले भने । 

सिटामोल लुकाउने फार्मेसीलाई १० हजार जरिवाना 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सिटामोल लुकाउने गोसाइँकुण्ड स्वास्थ्य सेवालाई १० हजार जरिवाना गरेको छ । सातदोबाटोमा रहेको उक्त औषधि पसलले सर्वसाधारणलाई सिटामोल नदिएको भन्दै विभागले कारवाही गरेको हो । 

सिटामोलको अभाव बताएपछि स्टोर भण्डारणमा भने सिटामोल मौज्दात राखेको पाइएपछि जरिवाना गरिएको विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलले बताए । 

विभागको अनुगमन टोलीलाई पनि सिटामोल नभएको बताएका सञ्चालकले अनुगमन गर्दा लुकाएको अवस्थामा फेला परेको थियो । 

यस्तै, सातदोबाटोमै रहेको दीपज्योति औषधि पसललाई पनि ५ हजार रुपैयाँ जरिवाना गरिएको थियो । दीपज्योतिले अनुगमनमा असहयोग गरेको कसुरमा ५ हजार जरिवाना गरिएको हो । 

औषधि व्यवस्था विभागले पनि बजारमा सिटामोलको अभाव नरहेको प्रष्ट पारेको छ । सिटामोलको अभाव भएको भन्दै औषधि नदिने फार्मेसीबारे उजुरी गर्न समेत विभागले सबैमा अनुरोध गरेको छ । 

याे पनि पढ्नुहाेस्:

मूल्यवृद्धिका लागि सिटामोलको उत्पादन रोकियो, बजारमा कृतिम अभाव सिर्जना

  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार ११:१३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया