प्रचण्ड र पौडेलको प्राथमिकतामा संसदीय निर्वाचन, के गर्ला सत्ता गठबन्धन ?

स्थानीय निर्वाचन वैशाखमा गराउन मोटामोटी सहमति भएको भनिए पनि सत्ता गठबन्धन त्यसबाट फरक दृश्यमा प्रवेश गर्ने संकेत छ । आज दिउँसो बस्ने पाँच दलीय गठबन्धनको बैठकले निर्वाचनसम्बन्धी साझा धारणा प्रस्तुत गर्ने बताइएको छ ।

यसअघि गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मोटामोटी सहमति निकालेको थियो ।

आज दिउँसो बोलाइएको सत्ता गठबन्धनको बैठकमा भने स्थानीय तहको निर्वाचनभन्दा पहिले संसदीय निर्वाचन गर्ने एजेण्डाले प्रवेश पाउने भएको हो । 

गठबन्धनको समन्वय समितिका संयोजकसमेत रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रष्ट रूपमै स्थानीय तहको निर्वाचनअघि संसदीय निर्वाचन गर्नुपर्ने पक्षमा छन् । 

देशलाई निकास दिनका लागि ताजा जनादेशमा जानपर्ने निष्कर्ष प्रचण्डले निकालेका छन् । उनको सचिवालयले दिएको जानकारी अनुसार प्रचण्डले आजको बैठकमा स्थानीय निर्वाचनभन्दा पहिले संघीय निर्वाचन गरेर अघि बढ्नेगरी तयारी गरेका छन् । 

अध्यक्ष प्रचण्डले पनि वैशाख वा जेठमा संसदीय निर्वाचन गर्न प्रस्ताव गरेका हुन् । एमालेले ‘अर्ली इलेक्सन’का लागि दबाब दिइरहेका बेला प्रचण्डले अर्ली पनि नभनी र मध्यावधि पनि नभनी बीचको बाटोबाट सर्वाेच्च अदालतले दिएको संघीय संसदको निरन्तरता हुनेगरी प्रस्ताव राखेका हुन् । 



स्थानीय निर्वाचनका लागि भने संविधानमा उल्लेख भए अनुसार कार्यवधि सकिएको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्ने व्यवस्था छ । यसअघिका नेकपा समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएकोले थप निर्णय हुन सकेको थिएन ।

उनीहरूसहितको उपस्थितिमा आज बस्ने बैठकले बाँकी निर्णय लिने बताइएको छ ।



  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार ११:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया