चिसोले कैलाली र कञ्चनपुरको जनजीवन कष्टकर

एक हप्तादेखि घाम नलाग्दा कैलाली र कञ्चनपुरको जनजीवन कष्टकर भएको छ ।  लगातारको हुस्सुले गर्दा मजदुरी गरी खाने वर्गलाई समस्या देखिएको हो ।

चिसो बढेपछि घरमा साँझ-बिहानको काम गर्न साह्रै अप्ठ्यारो भएको स्थानीय सोनीया थापाले बताइन् । अत्यधिक चिसो बढेपछि बृद्धबृद्धा तथा बालबालिकालाई चिसोले बढी सताएको उनले बताइन् । चिसोका कारण बजारमा आवतजावतसमेत पातलिएको छ । चोकचोकमा आगो बालेर मानिसहरू बस्न थालेका छन् ।

चिसो बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । बजारमा चलहपहल कम भएको छ । सधैँजसो भीडभाड हुने सरकारी कार्यालयमा पनि चिसोका कारण सेवाग्राही पातलिएका छन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् ।

यद्यपि, न्यानो कपडाका पसलमा भने ग्राहकको भीड बढेको छ । चिसो बढ्न थालेपछि स्थानीयले न्यानो लुगा जोहो गर्न थालेका छन् । चिसोकै कारण बिरामीसमेत बढेका छन् ।

चिसोका कारण बाढीपीडित बढी मारमा परेका छन् । गत असोजमा कैलालीको पूर्वी क्षेत्रमा आएको बाढीले घर टहरा बगाएका बाढी पीडितहरू निकै समस्यामा परेका छन् । बाढीका कारण घरबारविहीन भई टहरामा कष्टकर जीवन गुजारिरहेका पीडित जाडो बढेपछि थप कष्ट बेहोर्न बाध्य भएका छन् । चिसो बढ्दै गएकाले बाढीपीडित अब कसरी दिन कटाउने भन्ने समस्यामा देखिएका छन् ।

चिसोले कठ्याङ्ग्रिसक्दा पनि सरकारले स्थायी आवासका लागि केही गर्न नसकेको उनीहरूको गुनासो छ । घाम लाग्न छाडेपछि कसरी जीवन सुरक्षित पार्ने भन्ने कुराले पिरोल्न थालेको जिल्लाको भजनी नगरपालिका–६ का धर्मराम चौधरीले बताए ।



घर बाढीले बगाएपछि टहरामा बसिरहेकाहरूको जीवनयापन कष्टकर हुँदै गएको हो । जाडोको चपेटामा परेका बाढी प्रभावित दलित समुदायलाई चिसो सिरेटोले रात–बिहान पिरोल्ने गरेको स्थानीयहरूको गुनासो छ । मौसमविद्का अनुसार सुदूर-तराईमा घाम लाग्न अझै एक साता लाग्ने अनुमान गरिएको छ ।

चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका छ । एकाएक बढेको चिसोसँगै बिरामीको संख्या ह्वात्तै बढेको सेती प्रादेशीक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पुर्‍याउनुपर्ने चिकित्सकको सुझाव छ ।



केही दिनदेखि सुदूरपश्चिममा तापक्रम घट्दै जाँदा चिसो बढेको मौसम पूर्वानुमान महाशाखा काठमाडौंका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार सुदूरपश्चिममा न्यूनतम तापक्रम ७ डिग्री सेल्सियससम्म झरेकाले चिसो अत्यधिक महसुस भएको हो । यो साता पनि सुदूरपश्चिम प्रदेशको मौसममा सुधार हुने छाँटकाँट देखिएको छैन । ‘सुदूरपश्चिम प्रदेशमा मौसम बदली भई पानी पर्न सक्ने सम्भावना छ,’ उनले भने ।

  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १४:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया