युवा संघमा महेश बस्नेत अनावश्यक हावी, लफडै लफडा

नवौं महाधिवेशनको तयारीमा रहेको नेकपा एमाले सम्बद्ध जनवर्गीय संगठन युवा संघमा चरम असन्तुष्टि बढेको छ ।

एमालेको दशौं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको निर्देशनअनुसार हुन लागेको महाधिवेशनमा व्यक्तिवाद हावी भएको भन्दै १४ जना असन्तुष्ट पदाधिकारीहरूले पार्टीमा लिखित असहमति दर्ज गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मोर्चाफाँट प्रमुख भानुभक्त ढकाल, संगठन विभाग प्रमुख खगराज अधिकारीलाई भेटेर लिखित असन्तुष्टि पेश गराइएको छ ।

उपाध्यक्ष रोशन बस्नेतका अनुसार नेताहरूले यो गम्भीर विषय भएकोले पार्टीभित्र छलफल हुने आश्वासन दिएका थिए ।

फागुन ११ गते महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेर आयोजक कमिटी बनाउने बेलामा युवा संघभित्र पोलिटब्युरो सदस्य महेश बस्नेत हावी भएपछि विवाद उत्पन्न भएको थियो ।

विवाद कहाँबाट सुरु भयो ? 



पार्टीको निर्देशनअनुसार पहिलो पटक गत १९ पुसमा पोखरामा पार्टी कार्यालय कमिटीको बैठक बस्यो । जुन बैठकले आगामी फागुन ११ गते महाधिवेशन गर्ने निर्णय पनि गरेको थियो ।

पार्टीको दशौं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी बैठकले फागुन मसान्तसम्म सबै जनवर्गीय संगठनलाई महाधिवेशनका लागि निर्देशन दिएको थियो । त्यसपछिको दोस्रो निर्णय थियो-केन्द्रीय कमिटी बैठक बस्ने । 



एक हजार ३५१ जनाको केन्द्रीय कमिटीलाई आयोजक कमिटी मानेर अघि बढ्दा यो समस्या नआउन सक्ने एक नेताले जानकारी दिए ।

तर, पोखरामा आयोजित बैठकमा युवा संघका पूर्वअध्यक्ष समेत रहेका महेश बस्नेतले सचिवालयलाई आयोजक कमिटी बनाउने सुनाए । जुन नामबारे पार्टी कमिटीभित्र कुनै छलफल भएको थिएन । 

४१९ जनाको सचिवालय टिम रहेको युवा संघको पुस २८ र २९ गते बसेको सचिवालय बैठकमा विवाद बढ्यो । महाधिवेशन आयोजक कमिटी निर्माण गर्ने समझदारी भए पनि बैठक सकिसकेपछि बस्नेतले क्लस्टर नै निर्माण गरेर घोषणा गरे । 

प्रमुख अतिथि रहेका ईश्वर पोखरेल लगायतका नेताहरू कार्यक्रमस्थलबाट बाहिरिएपछि बस्नेतले महाधिवेशनकै झल्को दिनेगरी क्लस्टर निर्माण गरेपछि अन्य नेताहरू झनै असन्तुष्ट भएका थिए ।

‘महेश बस्नेतले नीति महाधिवेशनको झल्को दिनेगरी क्लस्टर निर्माण गर्नुभयो । जुन महाधिवेशनमा गरिन्छ । उहाँले ताली बजाऊ भन्नुहुन्छ अनि ताली बज्यो । एकैपटक सचिवालय बैठकमा कोरम पनि नपुगेको अवस्थामा विरोध गर्‍याैं’, उपाध्यक्ष रोशन बस्नेतले सुनाए ।

अनि पोखरामा बैठकस्थल नै सारियो...

पोखरामा युवा संघको बैठक चलिरहँदा असन्तुष्ट नेताहरूले विरोध जनाइरहेकै थिए । उनले क्लस्टर निर्माण गरेपछि यसमाथि छलफल हुनुपर्छ भन्दै नेताहरूले छलफल गर्दैगर्दा नेता महेश बस्नेतले ‘भोलि फेरि बैठक बस्ने’ भन्दै असन्तुष्टहरूलाई पन्छाएका थिए ।

पदाधिकारीहरूलाई नै खबर नगरी बैठक भएपछि असन्तुष्ट पदाधिकारीहरू काठमाडौं आएर नेताहरूलाई भेट्न थालेका थिए । त्यो थाहा पाउनेबित्तिकै महेशले सामाजिक सञ्जालमा अपूर्ण आयोजक कमिटी घोषणा गरेको भन्दै आक्रोश थपिएको छ ।

‘त्यहाँ त्यति गरेर भोलि फेरि बैठक बस्ने भनेर हिँड्नुभयो । भोलिपल्ट बैठक स्थान नै सारिदिनुभयो । प्रकाश गौतम र म आफैंलाई खबर नै नगरी बैठक बोलाइएछ’, उपाध्यक्ष बस्नेतले फरकधारसँग भने, ‘हामीले त्यो पत्ता नलगाएपछि काठमाडौं आयौं । यहाँ आएर सामाजिक सञ्जालमा बस्नेतजीले अपूर्ण खालको आयोजक कमिटी घोषणा गर्नुभयो । विधि विधान प्रक्रिया ढंगले कहीँ मिलेको छैन ।’

अधिवेशन तोकिएको अवस्थामा कतिपय जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष र इन्चार्जहरू नै परिवर्तन गराइएको छ । 

‘अधिवेशन तोकेका त छौं तर उहाँहरूले जिल्ला अध्यक्ष नै परिवर्तन गर्नुभएको छ । महाधिवेशन सम्पन्न गर्ने उपसमितिहरू कतै छैन । यो भनेको अधिवेशन छल्ने नीति हो भन्ने भएर हामीले ध्यानाकर्षण गराएका हौं । धेरै साथीहरूले गलत हो नै भन्नुभएको छ’, बस्नेतले सुनाए । 

महेश बस्नेतको व्यक्तिवाद हावी

९ वर्षअघि युवा संघको नेतृत्व गरेका बस्नेत अझै एक कार्यकाल युवासंघको अध्यक्ष हुने चाहनामा छन् । मन्त्री बन्ने बेलामा राजीनामा दिएका उनले त्यसपछि ‘टिके प्रथा’ नै सुरु गराएका थिए ।

अहिले पनि युवा संघको महाधिवेशन छल्नेगरी असन्तुष्टहरूलाई समेट्दै नसमेटी महेश बस्नेत लागी परेका छन् । जसको प्रभावस्वरूप १४ जना पदाधिकारीले ध्यानाकर्षणसहित अध्यक्ष ओलीसम्म यो कुरा पुर्‍याएका छन् । 

युवा संघका उपाध्यक्ष बस्नेतले भने, ‘महाधिवेशनलाई प्रभावित गर्नेगरी एकपक्षीय ढंगले घोषणा गरेका कारणले अवैधानिक ढंगले भएको छ भन्न खोजेका हौं ।’

युवा संघमा बस्नेतको कार्यशैलीप्रति असन्तुष्ट रहेका अर्का एकजना पदाधिकारी भने अझै उनी अध्यक्ष बन्नमै ध्यान दिइरहेको बताउँछन् । 

नाम नबताउने सर्तमा ती नेताले भने, ‘महाधिवेशनबाट आफैं अध्यक्ष बन्न चाहनुहुन्छ बस्नेतजी । अहिलेसम्म उहाँले पपेट अध्यक्ष मात्र बनाउनुभएको छ । यो तरिका भएन, यो उहाँको प्रालि होइन । प्रालिमा त अडिट हुनपर्छ, यो त पब्लिक कम्पनी हो । विधानले भ्याउने भए उहाँ आफैं अध्यक्ष बन्न खोज्नुभएको छ अझै ।’

  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १५:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया