राष्ट्रियसभा निर्वाचनका लागि मधेस प्रदेशमा एमाले र लोसपाबीच चुनावी गठबन्धन

आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ ।  

बिहीबार जनकपुरधाममा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी एमाले र लोसपाले चुनावी गठबन्धन घोषणा गरेको हो । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेश अध्यक्ष जितेन्द्र सोनल र नेकपा एमालेको तर्फबाट प्रदेश अध्यक्ष रामऔतार यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । लोसपासँगको गठबन्धनपछि एमालेकी विनादेवीले उम्मेदवारी फिर्ता लिएकी छन् ।

राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशका जनताको चाहना र भावनालाई मध्यनजर गर्दै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच सहमति भएको बताइएको छ । 

सहमतिअनुसार अन्यतर्फ नेकपा एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार रुपा कुमारी यादव (साईकल छाप) लाई मतदान गर्न राष्ट्रिसभाका मतदातासँग अपिल गरिएको छ । 

गठबन्धन घोषणा कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठ र पोलिटब्युरो सदस्यद्वय जुली महतो तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठलयागतका नेताहरुको उपस्थिती रहेको थियो । 



राष्ट्रियसभा सदस्य चुनावका लागि मधेस प्रदेशमा दुई पदमा ४ दलबाट ६ जनाको उम्मेदवारी परेको छ ।

चुनावी प्रतिस्पर्धाका लागि सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र जसपाले १/१ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा नेकपा एमालेबाट २/२ जनाले मनोनयन दर्ता गराएका थिए ।



सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा उम्मेदवारी दिएकी छन् । यस्तै, जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले मनोनयन दर्ता गराएका छन् भने लोसपाबाट महोत्तरीकी रूपा यादव महिला कोटामा उम्मेदवारी दिएकी छन् । 

त्यस्तै, नेकपा एमालेको तर्फबाट महिला कोटामा रौतहटकी बिना देवी र अन्य समूहबाट पर्साका उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका थिए । 

मधेस प्रदेशमा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन् ।

यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा कांग्रेसको २ हजार २६२ मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक कांग्रेसमा आइसकेकाले कांग्रेससँग अब २ हजार ३७० मतभार रहेको छ ।

राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि चुनाव हुन लागेको हो ।
स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।

  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १६:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया