अफ्रिका कप अफ नेसन्स : समूह चरणबाटै बाहिरियो गत विजेता अल्जेरिया

साविक विजेता अल्जेरिया अफ्रिका कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा बिहीबार आइभरी कोस्टसँग ३-१ ले पराजित भएपछि अल्जेरिया बाहिरिएको हो ।

आइभरी कोस्ट भने समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । डोउला स्टेडियममा आइभरी कोस्टलाई जित दिलाउन फ्रान्क केस्सी, इब्राहिम सान्गार र निकोलस पेपेले एक/एक गोल गरे ।

अल्जेरियाका सोफियन बेन्डेबकाले एक गोल फर्काए । खेलको २२ औं मिनेटमा केस्सीको गोलमार्फत आइभरी कोस्टले अग्रता  लिएको थियो ।

३९ औं मिनेटमा सान्गारले  टोलीको अग्रता  दोब्बर बनाए । ५४ औं मिनेटमा पेपेले गोल गरेपछि आइभरी कोस्ट ३-० ले अघि बढ्यो । ६० औं  मिनेटमा रियाद महारेजले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा अल्जेरियाले गोल अन्तर कम गर्ने अवसर गुमाएको थियो ।

७३ औं मिनेटमा बेन्डेबका अल्जेरियाका लागि सान्त्वना गोल गरे । यो जितसँगै समूह ‘इ’ मा आइभरी कोस्टले ३ खेलमा ७ अंक जोड्दा अल्जेरिया १ अंकका साथ अन्तिममा रह्यो । समूह इ अन्तर्गत गए राति नै भएको अर्को खेलमा इक्वाटोरियल गिनियाले सिएरा लियोनलाई १-० ले हरायो ।

यो जितसँगै ३ खेलमा छ अंक जोडेको इक्वाटोरियल गिनिया उपविजेताको रूपमा अन्तिम १६ प्रवेश गर्‍यो । २ अंकका साथ तेस्रो  स्थानमा रहेको सिएरा लियोन समूह चरणबाटै बाहिरिएको छ ।



समूह एफ अन्तर्गत भएको खेलमा गाम्बियाले ट्युनिसियामाथि १-० र मालीले मौरिटानियामाथि २-० को जित हात पारे ।

यो समूहबाट मालीले विजेता र गाम्बियाले उपविजेताका रूपमा अन्तिम १६ मा स्थान बनाए । तेस्रो स्थानको ट्युनिसियाले पनि अन्तिम १६ को यात्रा तय गर्दा पुछारको  मौरिटानिया भने समूह चरणबाटै बाहिरिएको छ ।



ट्युनिसियाले तेस्रो स्थानमा रहने टोलीमध्ये शीर्ष चारभित्र पर्दै अन्तिम १६ मा स्थान बनाएको हो । 

  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार ७:४१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया