कोपा डेल रेको अन्तिम १६ बाटै बाहिरियो गत विजेता बार्सिलोना

साविक विजेता बार्सिलोना कोपा डेल रेको अन्तिम १६ बाटै बाहिरिएको छ । आज बिहान सान मामेस बारियामा ​भएको खेलमा घरेलु टोली एथलेटिको बिल्वाओसँग ३-२ ले हारेसँगै बार्सिलोना अन्तिम १६ बाटै बाहिरिएको हो । बिल्वाओलाई जित दिलाउन इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे ।

बार्सिलोनाका फेरान टोरेस र पेड्रीले एक/एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा नै इकरको गोलबाट घरेलु टोली बिल्वाओले अग्रता लिएको थियो । २०औं मिनेटमा फेरान टोरेसले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । यसै विन्टरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका टेरेसले क्लबका लागि दोस्रो खेलमा डेब्यु गोल गर्न सफल भए ।

८६ औं मिनेटमा इनिगोले गोल गर्दै बिल्वाओलाई २-१ ले अघि बढाए । थप गरिएको समयमा पेड्रीले बार्सिलोनालाई २-२ को बराबरीमा ल्याए । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

१०५ औं इकरले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-२ ले स्तब्ध पार्दै टोलीलाई क्वार्टरफाइनल  पुर्याए । निको विलियम्सको क्रस बललाई पेनाल्टी क्षेत्रमा जोर्डी अल्वाले हातले छुन पुगेपछि बिल्वाओले पेनाल्टीको अवसर पाएको थियो । जसमा इकर चुकेनन्  । 





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार ८:२३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया