लागुऔषधको दलदलमा युवा, सुर्खेत कारोबारको केन्द्रबिन्दु बन्दै

गत पुस ३० गते वीरेन्द्रनगरको एक होटलबाट लागुऔषधसहित प्रहरीले दश जनालाई पक्राउ गर्‍याे । प्रहरीले उनीहरूबाट ६३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थका साथै चार ग्राम चरेस र ३२ ग्राम गाँजाको धुलो नियन्त्रणमा लियो ।
 
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर-३ सुर्खेतका ३० वर्षीय सुमन खत्री, नारायण नगरपालिका-८ दैलेखका २३ वर्षीय दिपक थापा, नारायण नगरपालिका-११ का २९ वर्षीय सागर चन्द, नारायण नगरपालिका-८ का २३ वर्षीय क्षितिज शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
 
त्यस्तै डुङेश्वर गाउँपालिका-१ दैलेखका २४ वर्षीय डम्बर खड्का, वीरेन्द्रनगर ४ सुर्खेतका रञ्जित खड्का, सोही स्थानका २४ वर्षीय सुजन शर्मा, वीरेन्द्रनगर-३ सुर्खेतका २२ वर्षीय कमल डाँगी, वीरेन्द्रनगर-१ सुर्खेतका २५ वर्षीय युवराज ढकाल र महावै गाउँपालिका-३ कालिकोटका २२ वर्षीय जीवन सिंहमाथि प्रहरीले अनुसन्धान गरिहेको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्युरोले उनीहरूलाई नियन्त्रणमा लिएको थियाे ।

यसैगरी माघ २ गते सुर्खेतकै एक होटलबाट प्रहरीले लागुऔषधसहित चारजनालाई पक्राउ गर्‍याे । 

४० मिलिग्राम ब्राउन सुगरसहित वीरेन्द्रनगर-१२ का ३० वर्षीय भुगोल गुरुङ, सोही स्थानका २२ वर्षीय बिप्लप सुवेदी, वीरेन्द्रनगर-१० का १८ वर्षीय युनिस नेपाली र वीरेन्द्रनगर-३ की १९ वर्षीय पूजा कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
 
यी त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय सुर्खेत लागुऔषध कारोबारको केन्द्रबिन्दु नै बनेको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूसँग जोडिएको कर्णाली प्रदेश विशेषगरी सुर्खेत जिल्ला कारोबारीहरूको लागि केन्द्रबिन्दु नै बनेको हो । 

लागुऔषध कारोबारमा पक्राउ हुनेहरू सबै युवा उमेर समूहका रहेको प्रहरीको भनाइ छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका केन्द्रबिन्दु बनाई लागुऔषध कारोबार हुने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । 



उनका अनुसार चालू आर्थिक वर्षसहित चार आर्थिक वर्षमा जम्मा ३५७ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्युरोले पक्राउ गरेको हो । 

जसमा आर्थिक वर्ष २०७५/०७६ मा १२९ जनालाई प्रहरीले पक्राउ गरेको थियाे । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ९० जना, आव २०७७/०७८ मा ७९ जना र चालू आर्थिक वर्षमा ५९ जनालाई प्रहरीले लागुऔषध कारोबारमा संलग्न भएको भन्दै पक्राउ गरेको हो । 



पक्राउ पर्नेहरूमा ३१ जना महिला र ३२६ जना पुरुष रहेको प्रहरीको तथ्यांक रहेको छ ।

डिएसपी घर्तीका अनुसार सम्पन्न परिवारदेखि न्यून आयस्तर भएका युवा उमेर समूहका कारोबारमा संलग्न भएका छन् ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालयले लागुऔषध नियन्त्रणका लागि चेकजाँचमा कडाइ गरेको घर्तीले जानकारी दिए । प्रदेशका अन्य जिल्लाका युवाहरू समेत वीरेन्द्रनगरमा बसेर लागुऔषध कारोबारमा संलग्न भएको घर्तीकाे भनाइ छ ।
 

  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १२:३१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया