७६०० किलो गुणस्तरहीन महसहित एकजना पक्राउ, काठमाडौंमै बनाएका थिए कारखाना

गुणस्तरहीन मह उत्पादन तथा बिक्रीवितरण रोक्न प्रहरीले अप्रेशन हनी सञ्चालन गरेको छ । सोही क्रममा महानगरीय अपराध महाशाखाले ७ हजार ६०० किलो गुणस्तरहीन महसहित एकजनालाई पक्राउ परेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ घर भई हाल काठमाडौं–२७ ज्याठा बस्ने ३८ वर्षीय नरेश भनिने नरबहादुर श्रेष्ठ रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गुणस्तरहीन महको उत्पादन एवं बिक्रीवितरण भइरहेको भन्ने सूचनाको आधारमा महाशाखाको टोलीले ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालकसमेत रहेका श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । 

उनले सात वर्षदेखि श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याजेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाएर बिक्रीवितरण गर्दै आएको खुलेको महाशाखाले जनाएको छ । उनले नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसेर बिक्रीवितरण गर्दै आएका थिए । 

प्रहरीका अनुसार श्रेष्ठले गुणस्तरहीन मह काठमाडौं, भक्तपुर र पोखराका होटल, रेस्टुरेन्टहरूमा थोक तथा खुद्रा बिक्रीवितरण गर्दै आएका थिए । उनले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी प्रतिकिलो ६५० रुपैयाँमा बिक्री गर्दै आएका थिए । 

स्पर्स हनी ब्राण्डसमेत दर्ता नै नगरी सञ्चालन गर्दै आएकोसमेत खुलेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गराउँदा सरकारले तोकेको मापदण्डभन्दा कम र खान योग्य नरहेको पाइएको महाशाखाले जनाएको छ । श्रेष्ठले गुणस्तरहीन मह बनाउनको लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेका थिए ।



प्रहरीले उनको साथबाट गुणस्तरहीन तयारी मह ६०० किलो, कच्चा तथा गुणस्तरहीन मह ६५०० किलो, ग्लुकोज ५०० किलो, चिनी १०० किलो, तौल नाप्ने मेसिन एक थान लगायतका सामाग्री बरामद गरेको छ । 



पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ । काठमाडौंका उपत्यकालगायत देशका विभिन्न स्थानमा नक्कली एवं गुणस्तरहीन मह बिक्रीवितरण भइरहेको हुनाले त्यसबारे सूचना दिनसमेत महाशाखाले अनुरोध गरेको छ । 

  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १२:५६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया