मन्त्री यादवको अभिव्यक्तिबारे कांग्रेस उपसभापति गुरुङ भन्छन् : अति गरे खती हुन्छ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले ‘हिंसा भड्काउने गैरजिम्मेवार’ अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । त्यस्तो अभिव्यक्ति दिएको भए पनि मन्त्री यादवले सार्वजनिक रूपमा माफी नमागेको भन्दै उनले आपत्ति जनाएका छन् । 

गैह्रजिम्मेवार अभिव्यक्ति दिने मन्त्री यादवलाई जनता समाजवादी पार्टीले कारबाही नगरेको र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि कारबाहीस्वरूप बर्खास्त नगरेको भन्दै उनले आक्रोश पोखेका छन् । 

शनिबार सामाजिक सञ्जाल ट्विटरमा गुरुङले लेखेका छन्, ‘मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको यतिका दिनसम्म पनि न मन्त्री स्वयंले सार्वजनिक रूपमा माफी मागेको सुनियो न सम्बन्धित दलले कारबाही गरेको सुनियो न त प्रधानमन्त्रीले बर्खास्त गरेको सुनियो । अति गरे खती हुन्छ भन्छन् खै !’

मन्त्री यादवले बुधबार रौतहटको गौरमा पुगेर गौर हत्याकाण्ड फेरि हुने चेतावनी दिएकी थिइन् । मन्त्री यादवले उक्त चेतावनी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतविरुद्ध दिएकी हुन् । 
 
जनमत पार्टीका कार्यकर्ताले कार्यक्रमस्थल जाने क्रममा अवरोध पुर्याएपछि आक्रोशित मन्त्री यादवले हत्या गर्नेसम्मको अभिव्यक्ति पनि दिएकी थिइन् । उनको अभिव्यक्तिलाई लिएर सत्तारूढदेखि विपक्षी दल र जनमत पार्टीले विरोध गरेका छन् । 

उनको अभिव्यक्तिलाई लिएर मन्त्री यादवको चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री देउवामाथि बर्खास्तीको दबाब बढेको छ । तर, प्रधानमन्त्री र उनको पार्टीले पनि मन्त्री यादवलाई कारबाही गरेको छैन ।

सार्वजनिक पदधारण गरेको व्यक्तिले हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिन पाइँदैन । यसअघि गैरजिम्मेवार अभिव्यक्ति दिँदा थुप्रै मन्त्रीले सत्ताबाट हात धुनुपरेको छ।





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १८:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया