सुदूरपश्चिमका पहाडी जिल्लामा भेन्टिलेटर छन्, दक्ष जनशक्ति छैन

जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटर हालसम्म सञ्चालनमा आएको छैन । गत वर्ष जडान भएको भेन्टिलेटरसहितको आईसीयू सञ्चालनमा आउन नसकेको हो ।

दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई शैयाको आईसीयू कक्ष सञ्चालनमा आउन नसकेको हो ।

कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको अस्पतालका प्रमुख डा. जोशीले बताए ।

यता, बझाङ जिल्ला अस्पतालमा पनि भेन्टिलेटर सञ्चालन लागि दक्ष जनशक्ति अभाव रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहितको आइसीयू कक्ष राख्ने निर्णय अनुरुप उक्त आइसीयु वेड ल्याइएको हो ।

गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्नका लागि दक्ष जनशक्ति अभाव रहेको छ । कोरोना महामारीको दोस्रो लहरताका जिल्लामा श्वासप्रश्वासका बिरामीका लागि ल्याइएको भए पनि दक्ष जनशक्तिको अभावमा उक्त वेड सञ्चालनमा ल्याउन नसकिएको हो ।

कोरोना महामारीको दोस्रो लहर फैलिएका बेला बझाङ जिल्लामा झण्डै १ हजार ६ सयभन्दा बढी संक्रमित भएका थिए भने २१ जनाले उपचारको अभावमा ज्यान गुमाएका थिए । श्वासप्रश्वासमा समस्या भएका जटिल संक्रमितलाई डडेल्धुरा तथा कैलाली रिफर गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोमा नै मृत्यु हुने गरेको थियो ।



जिल्लामा भेन्टिलेटरसहितको आइसीयू सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए ।

जिल्ला अस्पताल बझाङका डा. मिलन खड्काका अनुसार अहिले उक्त दुईवटा भेन्टिलेटरसहितको ८ वटा आईसीयु वेड जडान कार्य सम्पन्न भएको छ । पुस महिनाको पहिलो साता मात्रै उक्त जडान कार्य गरिएको डा. खड्काले बताए ।



जनशक्ति अभावकै कारण लामो समयसम्म उक्त सेवा सञ्चालन गर्न नसकिएको बताउँदै खड्काले अहिले दुई जनालाई भेन्टिलेटरसहितको आईसीयू वेड सञ्चालनका लागि तालिम दिइएपछि सञ्चालन गर्न सक्ने बताए ।

अहिले जिल्ला अस्पताल बझाङमा रहेको भेन्टिलेटरसहितको आईसीयू वेड सञ्चालनका लागि डा. मिलन खड्का र नर्स साधना खड्कालाई तालिम दिएको जिल्ला अस्पताल बझाङका प्रमुख अनवेश कोइरालाले बताए ।

आगामी दिनमा जटिल तथा आईसीयुमा राख्नु पर्ने बिरामी भर्ना भएको खण्डमा पनि जिल्लामा नै उपचार गर्न सकिने डा. कोइरालाले बताए ।

  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १८:३६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया