मकवानपुरमा टोलमै पुगेर खोप अभियान सुरु

बागमती प्रदेश सरकारले मकवानपुरको टाेलमै पुगेर खाेप लगाउने अभियान सुरु गरेकाे छ।

केही स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सुस्त पाइएपछि प्रदेश सरकारले टाेलमै पुगेर खाेप अभियान सञ्चालन गरेकाे हाे ।

मकवानपुरको चेपाङ बाहूल्य क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकासहित केही वडामा खोप अभियान लक्ष्यभन्दा कम पाइएकाे छ ।​

खोपप्रतिको गलत प्रचार, अन्धविश्वास र खोप केन्द्र टाढा हुँदा ती क्षेत्रमा खोप लगाउने स्थानीयको संख्या कम छ । यसका कारण सर्वसाधारण भएकै स्थानमा पुगेर खोप अभियान सञ्चालन गरिएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले बताइन् ।

गाउँमै खोप अभियान पुगेपछि यसअघि खोप नलगाई बसेका चेपाङ समुदायका स्थानीयमा उत्साह देखिएको छ । भौगोलिक विकटताका कारण समेत खोप अभियानमा सहभागी नभएका सर्वसाधारण घरदैलोमै खोप लिएर टोली पुगेपछि सो अवसरलाई सदुपयोग गरिरहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले पनि सबै इकाइका स्वास्थ्य प्राविधिक र स्वयंसेविका परिचालन गरी टोलटोलमै कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको जनाएको छ ।



विगतमा खोप लगाउन बेवास्ता गरेका स्थानीय चेपाङ र तामाङ समूदायको गाउँमै खोप लगाउने अभियान सुरु भएपछि भने सहभागिता बढेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईं बताउँछन् ।

बागमती प्रदेश सरकारले कोरोनाविरुद्धको खोप लगाउने दर कम भएको स्थानीय तहलाई लक्षित गरेर चोक, चौतारा, पाटीपौवा, मठमन्दिर, गुम्बा, चर्च, टोल विकास संस्थाजस्ता स्थानीयको बढी उपस्थित हुने स्थानमै खोप अभियान संचालन गरिरहेको जनाएको छ ।



  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १२:१७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया