तिमीलाई भौतिक रूपमा मैले कहिल्यै भेट्न पाइनँ । म जन्मिनुअघि नै तिमी भौतिक संसार छाडेर गइसकेका थियौ । मैले अब चाहेर पनि तिमीसँग कुनै दिन भेट हुन सक्दैन ।
तर, मान्छेले छाडेर जाँदा केही नलगेजस्तै तिमीले पनि केही लिएर जान पाएनौ । बाल्यकालमा हजुुरबुबाले किनेर ल्याउनुभएको रेडियोमा तिमीले गाएका गीतहरू सुनेको थिएँ । बच्चा न थिएँ, लाग्थ्योे, ‘कसरी यो सानो रेडियोभित्रबाट यति मीठो आवाज आइरहेको छ । मेरो अघि तिमी गाइरहेका हुन्थ्यौ ।
मलाई संगीत आफैँमा एउटा पूर्ण चिजजस्तो लाग्छ । त्यसलाई अझ पूर्ण तिम्रो आवाजले बनाएको थियो । म तिम्रो संगीतप्रति झुक्दै गएँ । गीत यस्तो कुरा हो, जहाँ गायक नभए पनि उसको आवाजले प्रत्यक्ष संवाद गरिरहेको हुन्छ, श्रोतासँग । तिमी मसँग संवाद गरिरहेका हुन्थ्यौ ।
तिमी गीतहरूबाट उठेर मेरो सामुन्ने आउँथ्यौ र सुनाउँथ्यौ जीवनमा प्रभाव पार्ने कैयौँ आयामका शब्दहरू । ती शब्द तिमीले बोलिदिएपछि पूर्ण लाग्थे । तिमीले गाएपछि ती अर्थपूर्ण बन्थे ।
प्रेममा पर्दा होस् वा बिछोडमा हुँदा तिमी साथ थियौ । कसैको साथ पाउँदा र साथ गुमाउँदा मलाई सहारा दिन्थ्यौ । मायालुविनाको संसार कस्तो हुन्छ तिमीले सिकाएका थियौ । मायाविनाको संसार कति उराठलाग्दो हुन्छ ? पिरतीविनाको जीवन कस्तो हुन्छ ? तिम्रो आवाजमा प्रस्ट झल्किएको म महसुस गर्छु (एउटा मान्छेको मायाले कति फरक पार्छ जिन्दगीमा) ।
भर्खर प्रेमको सिँढी चड्दा तिमीले मीठा बातहरूको अर्थ बुझायौ । प्रेम गर्न र प्रेमको मिठास तिम्रा रात ढल्न लाग्दा गरिने संवादमा निर्भीक भएका शब्दले बुझाएका थिए (केही मिठो बात गर) ।
पर्खाइको पीडा, कसैलाई कुर्दाको छटपटी महसुस गरिरहेँ । आफ्नोवरिपरिको अर्थहीन अँध्यारो समयमा आँखा चिम्म गरेर आफैँलाई बुझिरहेँे । मसँग पराई भएर गएको आफ्नो छायाको पछि लाग्दा तिमीले गाएका गीतहरू सहारा बनिरहे । प्रेमको तौल आफैँलाई बोझ लाग्दा, निराशामा मन जलिरहँदा तिम्रा आवाजहरू मेरै लागि गीतमा भरिएका हुन्झैँ लागिरह्यो (पर्खि बसेँ आउला भनी) ।
एकपटक तिम्रो बारेमा बुझ्ने जान्ने चाहले मनमा नजाँजिदो पाराले आँधी ल्याइदिएको थियो । तिम्रो बारेमा खोज्दै जाँदा केही बुझेँ पनि । जिस्किँदाजिस्किँदै आफ्ना मीत गोपाल योञ्जनले तिमीलाई गीत गाउन लगाएको कुरा थाहा पाएँ । तिमी संगीतमा लाग्दाको कथा बुझेको थिएँ । तिम्रो आवाजको जादु पहिलोपटक तिम्रै मित्र मनिकरत्न स्थापित र प्रेमध्वज प्रधानले थाहा पाएका रहेछन् । धन्न, उनीहरूले तिम्रो अलौकिक आवाजलाई चिने । नचिनेको भए आज मेरो जीवनमा केही न केही खड्किएको हुन्थ्यो ।
मोटो फ्रेमको चस्मा र चस्माभित्रका संकोची आँखा । तिम्रा आँखाहरूले हरेक समय केही बोलिरहेजस्तो लाग्छ । ‘नेपाल टेलिभिजन’बाट तिम्रा गीतहरू बज्दा तिम्रा औँलाहरू हारमोनियममा नाचिरहेको हेर्न पाउँदा म आफैँलाई अहोभाग्यमानी मानिरहन्छु । अनेक आलापमा तिम्रा आवाज कापिँरहँदा मेरो मन पनि सँगै काँपिरहेको हुन्छ । म तिम्रो आवाज कानले होइन, मनले सुनिरहेको हुन्छु ।
प्रेम नपाएपछिको बेहोसीले हरसमय मसँग नाता गाँसिरह्यो । नसाले हरसमय मसँग नाता गाँसिरह्यो । प्रेमले प्रेम नबुझ्दा आफ्नो बेहोसी, आफ्नो मात तिमीले सोधेजस्तै सोधिरहेँ (मेरो बेहोसी) ।
जीवनको मोह र सारबाट मुक्त हुने चाहना पर्याप्त आएको थियो ममा पनि । तिरस्कारका अनेक वाणहरू सहँदा–सहँदा छियाछिया भएर कुनै आँखिझ्याल भएको थियो । झरीमा रुझ्दारुझ्दै मक्किएर च्यातिएको पुरानो कपडाजस्तै भएको थिएँ । तिमी मेरोसामु हरसमय गाइरहेका हुन्थ्यौ । रातमा आफ्नै मृत्युको सपना देखेको सुनाइरहेका हुन्थ्यौ (आजै र राती के देखेँ सपनी) ।
प्रेममा पात्रहरू फेरिइरहन्छन् । जीवनमा सहयात्रा मोडिइरहन्छन् । कुइनेटाहरू छुटिरहन्छन् । कुइनेटामा सहयात्रीहरू पनि छुटिरहन्छन् । भाग्यमा लेखिएका अनेक आँसुका कथाहरू भोग्नुको विकल्प पनि हुँदैन । त्यो समय कसैले दिएको मायालाई सम्हाल्न पनि गाह्रो हुने रहेछ । कति आफ्ना पराई र कति पराई आफ्ना भइदिए । आफैँलाई सम्हालिरहेँ । आफैँलाई भुलाइरहेँ, तिम्रो आवाजमा (यति धेरै माया दिई) ।
सम्झिदाँ कति पीडा हुन्छ, छाडेर जानेलाई सम्बोधन गर्दा पनि जवाफ नआउने रहेछ । कति दर्द होला, नाता छुटाएर गएको मान्छेले किन छोड्यो भन्ने कारण थाहा नपाउँदा ? उसैले पुछेको परेलीबाट आँसुका अनवरत ढिक्काहरू बगिरहँदा कसले पुछ्न सक्छ र फेरि ? आफँैलाई लुकाएर यथार्थभन्दा पर भाग्न नसकिने रहेछ (यो सम्झिने मन छ) ।
मान्छेभित्र चेनता जगाउन तिम्रो आवाज पर्याप्त थियो । तिम्रो आवाजमा रत्नशमसेर थापाको शब्दले कति न्याय पायो, त्यो अहिलेको समयले प्रस्ट बताइरहेको छ (जाग लम्क चम्क हे नौजवान हो) ।
थाहा छैन, तिमीले यति धेरै पीडा, खुसी, यथार्थ, चेतना जगाउने÷बुझाउने गीत कसरी गायौ । तर, यति त हो, त्यहाँ तिम्रो आवाज मात्र थिएन । त्यहाँ तिम्रो ढुकढुकी थियो । तिम्रो मुटु अझै पनि हरेकको मुटुमा धड्किरहेको छ ।
तिमी आफैँ नसाको सहारामा बाँचिरहेथ्यौ । नसामा गाइरहेका थियौ । नसा र तिमीले जीवनको अन्तिम समयमा एक–अर्काका पर्याय बनाउनुको कारण के थियो ? त्यो तिमीलाई नै थाहा छ । सोध्नलाई तिमी अहिले सामुन्ने छैनौ । तर, जीवन र मृत्युको युद्धमा जीवन पराजित भए पनि त्यो केबल भौतिक पराजय मात्रै भएको हो ।
तिमी अहिले पनि जीवित छौ । तिम्रो आवाजमा सुसज्जित शब्दहरू कहिल्यै मर्ने छैनन् । तिमीले गीतहरूमा आफ्नो जीवन दिएका छौ । ढुकढुकी र स्वास दिएका छौ, ती कहिल्यै मर्ने छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।