नाथुराम गोड्सेमाथि बनेको फिल्म ‘ह्वाइ आई किल्ड गान्धी’ (मैले किन गान्धीलाई मारेँ ?) लाई लिएर विवाद चर्किएको छ ।
कांग्रेस नेता नाना पाटोलले गान्धीको हत्यारालाई नायक देखाउनु बिल्कुलै गलत भएको बताएका छन् ।
नाना पाटोलले समाचार एजेन्सी एएनआईसँग कुराकानी गर्दै भने, ‘यदि गान्धीजीको हत्यारालाई नायकको रूपमा देखाइएको छ भने यो गलत हो । हाम्रो देशले गान्धी र उनको विचारलाई मान्यता दिएको छ, त्यसैले कांग्रेसले यो फिल्मको विरोध गर्नेछ । महाराष्ट्रमा याे फिल्म रिलिज नगर्न हामी मुख्यमन्त्रीसँग अनुरोध गर्नेछौं ।’
लघुफिल्म ‘ह्वाइ आई किल्ड गान्धी’ ओटिटी प्लेटफर्ममा ३० जनवरी २०२२ मा रिलिज हुँदैछ । यसै दिन महात्मा गान्धीको गोली हानी हत्या गरिएको थियो ।
यस चलचित्रमा गोड्सेको भूमिका राष्ट्रवादी कांग्रेस पार्टी (एनसिपी)का सांसद अमोल कोल्हेले निर्वाह गरेका छन् । यसैबाट यो फिल्मको चर्चा सुरु भएको थियाे ।
अखिल भारतीय सिने वर्कर्स एसोसिएसन (एआइसिडब्ल्युए) ले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर फिल्ममाथि प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।
संघका अध्यक्षले ट्विटरमा राखेको पत्रमा चलचित्रमा गोड्सेको चरित्रलाई सम्मान गरिएको बताएकाे छ ।
पत्रमा भनिएको छ, ‘फिल्ममा गोड्सेको चरित्र संविधानको सपथ लिएका लोकसभा सांसदले निभाएका छन् । यो फिल्मको रिलिजमा प्रतिबन्ध लगाउनुपर्छ ।’
फिल्ममा बहस सुरु भएपछि समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तर्वार्तामा एनसिपी नेता अमोल कोल्हेले आफू गान्धीको विचारधारामा विश्वास गर्ने कुनै पनि हत्यालाई कहिले पनि न्यायोचित हुन नसक्ने बताएका छन् ।
‘व्यक्तिगत रूपमा म विश्वास गर्छु कि गान्धीको हत्या ती दुर्भाग्यपूर्ण घटनाहरूमध्ये एक हो जसलाई कुनै पनि हालतमा न्याय गर्न सकिँदैन । म उहाँको विचारधारालाई पछ्याउँछु’, उनले भने ।
यसै क्रममा एक भारतीय पत्रिकाका अनुसार फिल्म निर्माताले गान्धी हत्या प्रकरणमा सुनुवाइका क्रममा अदालतमा दिएको गोड्सेको बयानको आधारमा फिल्म बनेको बताएका छन् ।
यो २० औं शताब्दीको भारतीय इतिहासलाई फरक दृष्टिकोणबाट हेर्ने प्रयास भएको निर्माताको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0