स्थानीय निर्वाचन समयमै हुनुपर्छ, बहानाबाजी स्वीकार्य छैन : एमाले

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सत्तारुढ गठबन्धनले संविधानको अपव्याख्या गर्दै स्थानीय तहको निर्वाचन पर धकेल्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै संविधानको अपव्याख्या गर्दै सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन पर धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।

उनको वक्तव्यमा भनिएको छ, ‘संविधानमा रहेको यति स्पष्ट व्यवस्थालाई 'स्थानीय तहको निर्वाचन पाँच वर्षे कार्यकाल पूरा भएको छ महिनाभित्र गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको' भन्दै अपव्याख्या गरिँदै छ । स्पष्ट छ, संविधानको एउटा धारालाई अरु धाराबाट अलग गरेर अप्रासङ्गिक रुपले उल्लेख गर्दै स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने नियतले गठबन्धन सरकार लोकतन्त्रको मर्ममाथि प्रहार गर्न उद्दत् देखिएको छ ।'

उनले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्नेमा आफ्नो पार्टी स्पष्ट, द्विविधारहित र दृढ अडानमा रहेको उल्लेख गर्दै त्यसबारे हुने कुनै पनि अलमल, धोकाधडी र बहानाबाजी आफ्नो पार्टीलाई किमार्थ स्वीकार्य नहुने चेतावनी दिए ।

अध्यक्ष ओलीले आफ्नो पार्टी जुनसुकै बेला हुने निर्वाचन सामना गरेर जान तयार रहेको पनि बताए । 'स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा नेकपा (एमाले) को स्पष्ट, द्विविधारहित र दृढ अडान छ । यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोकाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य हुने छैन' वक्तव्यमा भनिएको छ ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनलाई पर धकेल्न सत्तारुढ गठबन्धनले २०७९ वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्ड फ्याँकेको उल्लेख गर्दै त्यसले मुलुकमा राजनीतिक अन्यौलता सिर्जना गर्ने दावीसमेत गरे ।





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १४:४५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया