कर्णालीमा पूर्ण खोप लगाउनेको संख्या साढे ६ लाख

कर्णाली प्रदेशमा पूर्ण खोप लगाउनेको संख्या ६ लाख ५८ हजार १ सय ४९ पुगेको छ । प्रदेशका १० जिल्लाका १८ वर्षभन्दा माथि उमेर समूहका नागरिकले पूर्ण खोप लगाएका हुन् । 

पहिलो डोज मात्रै लगाउनेको संख्या ८ लाख ४२ हजार ९ सय ९३ रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीका अनुसार कर्णाली प्रदेशको जम्मा जनसंख्या १८  लाख ३४ हजार ८ सय १९ रहेको छ । 

१८ वर्षमाथिको जनसंख्या १२ लाख ३ हजार २ सय ८९  र १२ वर्षदेखि १७ वर्ष उमेर समूहको २ लाख ६ हजार ८ सय ९३ जना गरी जम्मा १४ लाख १० हजार १ सय ८२ खोपको लक्षित जनसंख्या रहेको केसीले बताए । 

१८ वर्षदेखि माथिको उमेर समूहका ५७ प्रतिशतले पहिलो डोज र ५५ प्रतिशतले पूर्ण खोप लगाएको सूचना अधिकारी केसीले बताए । त्यस्तै, १२ वर्षदेखि १७ वर्ष उमेर समूहका १ लाख ६० हजार ८ सय ३७ जनाले मोर्डना खोप लगाएका छन् । 

‘सुर्खेतमा फाइजर र अन्य नौ जिल्लामा मोर्डना लगाउने तयारी थियो,’ उनले भने, ‘तर फाइजर खोप नआउने भएपछि सुर्खेत जिल्लामा समेत मोर्डना खोप लगाउने तयारी भएको छ ।’ उनले सुर्खेतमा चारहजार ६ सय ७३ जनाले मोर्डना लगाइसकेको बताए । 

हालसम्म खोप लगाएकाहरुमा कोभिसिल्डको पहिलो डोज १ लाख १७ हजार १ सय ८, दोस्रो डोज ९२ हजार २४ र बुस्टर डोज ५ हजार १ सय ८० जना रहेको निर्देशनालयको तथ्यांक रहेको छ । 



त्यस्तै, भेरोसेल पहिलो डोज ५ लाख १९ हजार ६५, दोस्रो डोज ३ लाख ९१ हजार ८ सय ८६ र बुस्टर डोज २ हजार ६८ जनाले लगाएका हुन् । जोनसन सिंगल डोज १ लाख ३२ हजार ५ सय ३३, एक्ट्राजेनिका पहिलो डोज ४३ हजार ७ सय ११ र दोस्रो डोज ३९ हजार ६ सय ४९ जनाले लगाएका हुन् । 

फाइजर खोप सुर्खेत जिल्लामा मात्रै पहिलो डोज २ हजार २ सय ७२, दोस्रो डोज २ हजार ५७ जनाले लगाएको सूचना अधिकारी केसीले जानकारी दिए । 



सुर्खेत जिल्लाका लागि फाइजर खोप नआएपछि मोर्डना नै लगाउने तयारी गरिएको हो । 

  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १८:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया