मधेस प्रदेश घोषणाले १४ जिल्लाका मधेसी र सहिद अपमानित : मैथिली साहित्यकार सभा

मैथिली साहित्यकार सभाले मिथिलानगरी जनकपुरधाम र मिथिलावासीका लागि २०७८ माघ ३ गते स्वर्णिम ऐतहासिक दिन प्रमाणित भएको जनाएको छ । 

मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनले लगभग साढे ५ हजार वर्षपश्चात् पुनः जनकपुरधाम राजधानी हुने गौरव प्राप्त गरेकाले प्रदेशसभाका सभामुख र सम्पूर्ण प्रदेशसभा सदस्यप्रति आभारसहित धन्यवाद ज्ञापन गरेका छन् ।
 
अर्कोतर्फ मधेसकेन्द्रित दलहरुको बाहुल्य रहेको प्रदेशसभाले प्रदेशको नाम मधेस प्रदेश घोषित गरेकोप्रति मैथिली साहित्यकार सभाले आपत्ति समेत जनाएको छ । सभाले मात्र ८ जिल्लाको मधेस प्रदेश घोषणा गरिएकोले बाँकी १४ जिल्लाका मधेसी र सहिदलाई अपमानित गरिएको ठहर गरेको छ ।
 
सभाले ५ हजार वर्षको पौराणिक, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक पहिचान रहेको ८ जिल्लाको सट्टा मिथिला क्षेत्र (कोशीदेखि पश्चिम र गण्डकीदेखि पूर्वको भू–भाग)लाई बेवास्ता गरिएको जनाएको छ ।

सभापाल ललनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘मैथिली सभ्यता, संस्कृति र मैथिली भाषाभाषीको बाहुल्य रहेको यस प्रदेशमा मिथिला राज्यका लागि भएको आन्दोलनमा ५ जनाले सहादतसमेत दिएका छन् । समय समयमा सरोकारवालाहरुद्वारा मिथिला प्रदेश नामकरण गर्नुपर्ने आवाज उठिरहे पनि बहुसंख्यक प्रदेशसभा सदस्यहरु पूर्वाग्रह भई गणितीय तमासा गरेकोले मिथिलामाथि मधेस नाम थुपारिएको छ ।’

आफ्नो मौलिक पहिचान र मिथिलाको पहिचानका लागि संघर्षरत रहन समेत विज्ञप्तिमा अपिल गरिएको छ ।





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १८:५७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया