सोलुखुम्बुमा दोस्रोपटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । हिमपातले जिल्लाको खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ ।
यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । अत्यधिक चिसोले स्थानीयले घरैमा दाउरा बालेर बसिरहेका छन् । अन्य सरकारी कार्यालयका कर्मचारीले समेत सोही विधि अबलम्बन गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भूमिराज उपाध्ययले बताए ।
पर्यटकीय समय सकिएसँगै यस क्षेत्रका अधिकांश बासिन्दा चिसो छल्नकै लागि राजधानी काठमाडौंलगायत क्षेत्रमा जाने गर्छन् । यस वर्ष पनि धेरै व्यक्ति चिसो छल्न खुम्बु छाडेका छन् भने दैनिक सय हाराहारीमा उडान हुने तेन्जिङ हिलारी विमानस्थल लुक्ला अहिले दैनिक दुई/तीन उडानमा सीमित बनेको छ ।
खुम्जुङ क्षेत्रका करिब ७० प्रतिशत मानिस चिसो छल्न काठमाडौं गएको स्थानीयवासी पेमायाङ्जी शेर्पाले बताए । घरमा ताल्चा लगाएर नै सबै परिवार काठमाडौं गएको उनले जानकारी दिए ।
शान्ति शुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीले भने दैनिक गस्ती गर्ने गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जसमेत भएकाले चोरी शिकारीलगायत अन्य घटना हुन नदिन प्रहरी सधै सक्रिय हुनुपर्ने भएकाले सोहीअनुसार ड्युटीमा खटिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।