आयात-निर्यातको तथ्याङ्कले नेपालको परनिर्भरता निरन्तर बढेको देखाएको छ ।
भन्सार विभागले हालै जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालको आयात ५१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
पछिल्लो ६ महिना अर्थात २०७८ साउनदेखि पुससम्मको अवधिमा नेपालले विभिन्न देशबाट ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख ८ हजार रुपैयाँको वस्तु आयात गरेको छ।
अघिल्लो वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यो ५१.१३ प्रतिशतले बढि हो । अघिल्लो वर्ष उक्त अवधिमा नेपालले विभिन्न देशबाट ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख ९४ हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।
चाल आर्थिक वर्षको सुरुवाती ६ महिनामा नेपालले १ खर्ब १८ अर्ब ८५ करोड ९ लाख ६० हजार रुपैयाँको वस्तु मात्र निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिभन्दा यस वर्ष नेपालको निर्यात व्यापार ९५.४८ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुससम्मको अवधिमा नेपालले कूल ६० अर्ब ७९ करोड ९२ लाख १४ हजार रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ ।
विभागको तथ्याङ्कले पछिल्लो ६ महिनामा नेपालको कूल वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख ६८ हजार रुपैयाँ पुगेको देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा तुलनामा यस वर्ष नेपालको कूल वैदेशिक व्यापार ५४.८६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सुरुवाती ६ महिनामा नेपालको कूल वैदेशिक व्यापार ७ खर्ब २२ अर्ब ४ करोड ४६ लाख ८ हजार रुपैयाँको रहेको थियो ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष सोही अवधिको तुलनामा यस वर्ष नेपालको व्यापार घाटा ४६.६४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा नेपालको व्यापार घाटा ६ खर्ब ४४ करोड ६१ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।