डेढ वर्षमा नेपाल भित्रिए २ लाखभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर, २९ हजार ५५९ भेन्टिलेटर र २३५ थान पिसिआर मेसिन

कोरोना महामारी बढेपछि नेपालमा यसको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको आयात बढेको छ ।  

भन्सार विभागका अनुसार पछिल्लो डेढ वर्षमा नेपालमा २९ हजार ५५९ थान मेडिकल भेन्टिलेटर, २ लाख ३ हजार ३१ थान अक्सिजन कन्सन्ट्रेटर र २३५ थान पिसिआर मेसिन बिभिन्न देशबाट भित्रिएको छ । 

चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएपछिको पहिलो ६ महिना (साउन देखि पुससम्म) मा मात्र बिभिन्न देशबाट नेपालमा अर्बौं रुपैयाँको मेडिकल सामाग्री तथा उपकरणहरु भित्रिएको छ । 

२०७८ साउन यता मानवको प्रयोगका लागि बिभिन्न प्रकारका २ लाख २० हजार ९४० केजी खोप नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । ती खोप २० अर्ब ४६ करोड ६३ लाख ८७ हजार रुपैयाँमा आयात गरिएको हो । 

सोही अवधिमा २२० थान पिसीआर मेसिनलाई ५ करोड ७८ लाख ६९ हजार रुपैयाँमा खरिद गरिएको छ । 

यस्तै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८३ करोड २१ लाख ३२ हजार रुपैयाँमा १ लाख ६३ हजार ७४४ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल भित्रिएका छन् । ४ करोड ६५ लाख ५३ हजार रुपैयाँमा ४ लाख ११ हजार ४७ थान अक्सिजन र भेन्टिलेटर मास्क सो अवधिमा नेपाल भित्रिएको देखिन्छ ।



गत साउनदेखि पुस मसान्तसम्म विभिन्न देशबाट ७३ करोड ७८ लाख ३७ हजार रुपैयाँ खर्चेर ३ हजार ४२१ थान मेडिकल भेन्टिलेटर नेपाल भित्रिएको छ । सोही समयमा ८ करोड १९ लाख ३१ हजार रुपैयाँको थर्मोमिटर ल्याइएकाे छ भने ३ करोड २० लाख ९६ हजार रुपैयाँमा १ लाख ९७ हजार ४८७ थान थर्मल गन (डिजिटल इन्फ्रारेड थर्मोमिटर) ल्याइएको छ । 

भन्सार विभागका अनुसार पछिल्लो ६ महिनामा नेपालले २ करोड २५ लाख ५१ हजार रुपैयाँमा ६ लाख १० हजार २ थान फेस शिल्ड खरिद गरेको छ । 



नेपालले बितेको ६ महिनामा मात्र विभिन्न देशबाट ९५ करोड ५६ लाख ५  हजार रुपैयाँमा ८ करोड ४६ लाख ११ हजार १७० थान फेस मास्क खरिद गरेको छ । उक्त अवधिमा २३ करोड २२ लाख ५४ हजार रुपैयाँमा ५६ हजार २३५ केजी डाइग्नोस्टिक किट्स नेपाल भित्रिएका छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा विभिन्न देशबाट १ अर्ब ८० करोड ८९ लाख १३ हजार रुपैयाँमा ३९ हजार २८८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल भित्रिएको थियो । गत आर्थिक वर्ष नै १ करोड ५३ लाख २८ हजार रुपैयाँमा १५ थान पिसीआर मेसिन नेपाल ल्याइएको विभागले जनाएको छ । 

गएको वर्ष ७६ करोड ७५ लाख ९२ हजार रुपैयाँमा २६ हजार १३८ थान मेडिकल भेन्टिलेटर नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष नै बिभिन्न देशबाट नेपालमा २ अर्ब ५७ करोड ६५ लाख ५१ हजार रुपैयाँको फेस मास्क भित्रिएको थियो । 

  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १३:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया