मोरङमा अपहरण शैलीमै होटलमा लगेर बलात्कार, बलात्कारपछि यौनाङ्गमा हात हालेर क्षतविक्षत
बलात्कारमा प्रयोग भएको भ्यान

गत शुक्रबार साँझ ६ बजेतिर उनी कामबाट फर्किँदै थिइन् । मोरङको सुन्दर हरैचाको गछियास्थित बहिनीको घरमा जाँदै थिइन् । साँझ पर्दै गर्दा एउटा भ्यान आयो । मारुती भ्यान महिलालाई लिफ्ट दिने भन्दै महिलाको नजिक आयो । 

इटहरीबाट गाडीमा चढेपछि उनले बहिनीको घरको लोकेसन दिइन् । लिफ्ट दिने भन्दै चढाए पनि उनीहरूले ती महिलालाई सिधै बलियास्थित श्रेष्ठ होटल एण्ड फ्यामिली लज पुर्‍याए ।

उनले बहिनीको घर पुर्‍याइन आग्रह गरिन् । तर, त्यसका लागि पहिला खाना खानुपर्ने सर्त राखे। उनले केही खाजा खाइन् । खाजा खाएपछि उनी बेहोस भइन् । त्यसपछि होटलको एउटा कोठामा थुनेर महिलालाई रातभर तीन जनाले पालैपालो बलात्कार गरे । 

पटक पटकको बलात्कारपछि पीडाले असह्य भएपछि उनी मध्यरातमा चिच्याइन् । उनी चिच्याएपछि बलात्कारीले उनको यौनाङ्गमा हात हालेर क्षतविक्षत बनाइदिए र उनी बेहोस भइन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका-४ बलियामा एक महिला सामूहिक बलात्कारको सिकार भएकी छन् । ३१ वर्षीया महिलाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
 
उनी राम्रोसँग बोल्न सक्ने अवस्थामा छैनिन् । अमानवीय एवं क्रुर घटनाको सिकार बनेकी ती महिला बेलाबेला कराउने र छट्पटाउने गर्ने गरेको कोशी अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीले बताइन् । 

डा. केसीका अनुसार उनको यौनाङ्गमा ठूलो असर परेकाले टाँका लगाउनुपर्ने अवस्था आएको छ।



प्रहरीले बलात्कारमा संलग्न तीन जनामध्ये दुई जनालाई पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका ४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ र उनका भाइ २५ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।
 
बलात्कारपछि अर्जुनले हात भित्र छिराएर महिलाको यौनाङ्ग नै क्षतविक्षत बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रतिकार गर्न थालेपछि महिलालाई यातना दिने र कुटपिट समेत गरिएको डिएसपी मुकारुङकाे भनाइ छ ।



घटनामा संलग्न रामबहादुर नेपाली भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको डिएसपी मुकारुङले बताए । 

उनीहरूले प्रदेश २ ०१००१ च २२७ नम्बरको भ्यानमा लिफ्ट दिएर होटलमा लगेका थिए । पछि सोही गाडीमा हालेर उपचारका लागि कोसी अस्पताल लगिएको थियो । 

प्रहरीले होटलमा काम गर्ने आरती श्रेष्ठ नाम गरेकी युवतीलाई समेत पक्राउ गरेको छ । उनले महिलामाथि बलात्कार भइरहेको देखेर पनि प्रहरीलाई खबर नगरेको आरोप प्रहरीले लगाएको छ। यति मात्र नभई प्रहरी हाेटल पुग्दा पनि उनले सहयोग गर्न आनाकानी गरेकी थिइन् । 

ती महिला गत असोजमा सपरिवार खोटाङबाट बेलबारी बसाइ सरेकी थिइन् । श्रीमान दुई महिनाअघि पहाड घर खोटाङ गएका थिए । दुई छोरीलाई गछियास्थित बहिनीको घरमा छोडेर उनी काम गर्न जान थालेकी थिइन् । कामबाट फर्किने क्रममा उनी अपहरण शैलीमा सामूहिक बलात्कारको सिकार बनेकी हुन् । 

शुक्रबार बलात्कारपछि महिलालाई उपचारका लागि सोही भ्यानमा हालेर अस्पताल लगेका थिए ।

प्रहरीले भने शनिवार बिहान ८ बजेतिर उक्त घटनाकाे बारेमा थाहा पाएको थियो । ती महिलालाई उनकी बहिनीले उद्धार गरेर अस्पताल लगेकी थिइन् । 

घटनास्थल र दिदीको अवस्था देखेपछि उनी निकै अत्तालिएकी थिइन् । उनले होटलमा पुगेपछि प्रहरीलाई खबर गर्छु भनेपछि होटल सञ्चालक उपचारका लागि लैजान तयार भएको थियो ।

अस्पताल लैजाने क्रममा बलात्कारको घटना सार्वजनिक गरे मारिदिने धम्की समेत दिएका थिए । 

  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १५:९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया