नेतृत्वमा पुरुषको वर्चस्व : ठूला पार्टीले पदाधिकारीमा ल्याउँदैनन् महिला

नेकपा एमालेको आठौँ अधिवेशन भर्खरै सम्पन्न भएको छ । कर्णाली प्रदेशका आठवटा जिल्लामा एमालेले नेतृत्व चयन गरिसकेको छ । कर्णालीका १० जिल्लामध्ये दैलेख जिल्लामा विवाद सिर्जना र हुम्लामा मौसमको कारण पार्टीको नेतृत्व चयन नभएको नेकपा एमाले पार्टी अध्यक्ष विनोदकुमार शाहले बताए ।  

एमाले सुर्खेतको अध्यक्षमा अमृतकुमार बिसी, उपाअध्यक्षमा कलुमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसिचवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली चयन भएका छन् । सुर्खेत जिल्लामा चयन भएको एमालेको जिल्ला कमिटीमा पाँचजना पदाधिकारीभित्र एकजना पनि महिला अटाउन सकेनन् । शीर्ष नेताहरुले नै त्यसको परिपञ्च मिलाउन नसकेको प्रस्ट देखिन्छ ।
 
जाजरकोट जिल्लाको पार्टी अध्यक्षमा खिमबहादुर शाही चयन भएका छन् । जसको उपाध्यक्षमा गोपालबहादुर बटाला,  सचिवमा वीबहादुर गिरी, उपसचिवमा नरबहादुर बस्नेत र गोपालबहादुर नेपाली चयन भएका हुन् । जाजरकोटको जिल्ला नेतृत्वले समेत पाँचजना पदाधिकारी मध्ये एकजना पनि महिला ल्याउने गृहकार्य गर्न सकेन ।
 
डोल्पा जिल्लामा शेरबहादुर बुढाको नेतृत्वमा निर्वाचित जिल्ला कमिटिको पाँचजना पदाधिकारीमा एकजना समेत महिला पर्न सकेनन् । बुढाको नेतृत्वको कमिटी उपाअध्यक्षमा विश्वचन्द्र दसाल , सचिवमा लंक बहादुर रोकाय, उपसचिवमा सुमन बुढा र धावासन्दुक गुरु¨ चयन भएका हुन् । संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिलाको सहभागितालाई डोल्पा जिल्लामा समेत शून्य स्थान दिइयो ।

यस्तै, जुम्ला जिल्लाको पार्टी अध्यक्षमा शान्तिलाल महत, उपाअध्यक्षमा सुरत शाही, सचिवमा धनकृष्ण पाण्डे, उपसचिवमा प्रेम बुढा र मानबहादुर रोकाय चयन भएका छन् । यो जिल्लामा पनि महिलालाई कुनै पनि पाँच पदाधिकारीमध्ये एक पदमा अटाउन नेताहरुले सकेनन् । 

कालिकोट जिल्लामा जशीप्रसाद पाण्डेको नेतृत्वमा निर्वाचित पार्टी कमिटीको पाँच पदाधिकारीमा उपाध्यक्ष दयाराम सिंखडा, सचिवमा टेकबहादुर बुढा, उपसचिवमा मनराज शाही र ब्यासी तिरुवा रहेका छन् । यो जिल्लामा पनि महिलाको सहभागिता शून्य नै देखियो ।
  
मुगु जिल्लामा समेत अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्ण मल्ल,  सचिवमा डबल रोकाय, उपसचिवमा नरेन्द्र रोकाय र कर्मा छिरिङ लामा चयन भए । तर, एकजना महिलासमेत पदाधिकारीमा अटाउन सकेनन् ।
 
तर, रुकुम पश्चिममा नन्दराम देवकोटाको नेतृत्वको कमिटीले भने एकजना महिलालाई स्थान दिएको छ । त्यो पनि सहसचिव पदमा ।  उपाध्यक्ष मनवीर घर्ती, सचिवमा शशिराम परियार र उपसचिवमा गणेश सुनार र रचना मल्ल निर्वाचित भएका हुन् ।
  
यस्तै, सल्यान जिल्लामा समेत  गोविन्दकुमार पुनको नेतृत्वमा निर्वाचित कमिटीमा मुस्किलले उपसचिव पदमै एकजना महिला अटाइन् । जो भूमिकाविहीन पद हो ।  उपाध्यक्षमा भीमबहादुर सेन, सचिवमा ओझ ब बुढा, उपसचिवमा दानबहादुर केसी र पुष्पा बोहोरा चयन भएका हुन् ।
 
नेकपा एमालेको आठ जिल्लामा गरी ४० जना मुख्य पाँच पदमा जिल्लाका  (पदाधिकारीमा) चयन भएका छन् । जसमा जम्मा दुईजना मात्रै महिला परेका छन् । ४० जना पदाधिकारीमा ३८ जना पुरुष र दुईजना मात्रै महिला चयन भएका हुन् ।
 
नेकपा एमाले मात्रै होइन, देशकै ठूलो पार्टी भनिने नेपाली कांग्रेसको समेत हबिगत उस्तै छ । नेपाली कांग्रेसले समेत जिल्लाका पार्टी नेतृत्व पदाधिकारीमा महिलाहरुको उपस्थितिलाई स्वीकार गर्न सकेन । दशवटै जिल्लामा पुरुषकै वर्चस्व देखिन्छ । 

नेपाली कांग्रेस सुर्खेत जिल्ला कमिटी सभापतिमा खड्कबहादुर पोख्रेल, उपसभापतिहरुमा टोपबहादुर रावत र विष्णुबहादुर खड्का, सचिवमा देवकुमार सुवेदी र बालदीप कँडेल तथा सहसचिवमा प्रकाश डिसी र हरि विष्ट चयन भए । तर, एकजना पनि महिलाको सहभागिता गराउन कांग्रेस सुर्खेतको नेतृत्वले गर्न सकेन । महिलाको भूमिका पदाधिकारीमा शून्य नै भयो ।
  
नेपाली कांग्रेस कालिकोटको पार्टी सभापतिमा अम्बबहादुर शाही, उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही, सचिवमा मात्रिका सिंह र नगेन्द्र विष्ट तथा सहसचिवमा मथुराप्रसाद उपाध्याय र भरत मल्ल चयन भएका हुन् । कांग्रेस कालिकोटले समेत महिलालाई उपेक्षा नै गर्यो । मनोनीत हुने कोषाध्यक्ष पदबाहेकको सातवटा पदाधिकारीमा एकजना पनि महिला अटाउन सकेनन् ।
 
नेपाली कांग्रेस सल्यान जिल्लाको पार्टी सभापतिमा केशबबहादुर विष्ट, उपसभापतिमा सन्तोष केसी र चक्र देवकोटा, सचिवमा प्रकाश भण्डारी र सेकराज बुढाथोकी , सहसचिवमा जनक गौतम र पदम बुढाथोकी चयन भएका हुन् । सातजना पदाधीकारीमध्ये एकजना पनि महिला अटाउन सकेनन् । 
  
रुकुमपश्चिमको पार्टी सभापतिमा प्रेमप्रकाश वली, उपसभापतिमा सुरतजंग मल्ल र हर्कसिंह खत्री, सचिवमा प्रमेश्वर भण्डारी र तारकबहादुर शाही तथा सहसचिवमा प्रेमबहादुर खड्का र यज्ञबहादुर विष्ट चयन भएका छन् । मनोनीत गरिने कोषाध्यक्ष पदमा समेत मोहवीर खड्कालाई मनोनीत गरिएको छ । कांग्रेस रुकुमपश्चिमले समेत आठजना पदाधीकारीमध्ये एकजना महिला पनि कमिटीमा ल्याउन सकेन । 

जाजरकोटको पार्टी सभापतिमा बेदराज सिंह, उपसभापतिमा खड्क बिसी र रत्नबहादुर खड्का, सचिवमा तेजविक्रम शाह र हरिचन्द्र बस्नेत तथा सहसचिवमा खड्क बुढा क्षेत्री र छवि पन्त चयन भएका हुन् । यो जिल्लामा पनि महिलाको सहभागिता शून्य नै देखियो ।
 
जुम्ला जिल्लाको पार्टी सभापतिमा कर्णबहादुर शाही, उपसभापतिमा दीपकबहादुर शाही र कर्मा बुढा, सचिवमा लक्ष्मण शाही र अर्जुनसिंह कठायत तथा सहसचिवमा नन्दप्रसाद चौलागाईं र धनेन्द्र बोहोरा चयन भएका छन् । जुम्ला जिल्लाको पार्टी नेतृत्वले समेत महिलाको सहभागितालाई गौण ठान्यो । पदाधिकारीमा यो जिल्लामा पनि पुरुषकै एकछत्र कायम भयो । 



डोल्पा जिल्लामा दीपेन्द्रबहादुर शाही सभापतिमा, उपसभापतिमा पूर्णबहादुर शाही र लबकुमार शाही, सचिवमा दशरथ रोकाया र हिक्मत शाही, तथा सहसचिवमा लक्ष्मण शाही र सुरेन्द्र महत चयन भएका छन् । राजनीतिमा महिला खोजेरै नपाइने डोल्पा जिल्लामा त झन् पदाधिकारीमा महिला आउने कुरै भएन । डोल्पा जिल्लाको कांग्रेसले पनि अन्य जिल्लाझैँ सात पदाधिकारीमा महिलाको सहभागितालाई शून्य नै बनायो ।
 
हुम्ला जिल्लाको पार्टी सभापतीमा मोहनविक्रम सिंह, उपसभापतिमा कैलाश भण्डारी र वसन्त रोकाय, सचिवमा कृष्ण बोहरा र विजया बोहरा तथा सहसचिवमा दिलबहादुर शाही र पालजोर लामा चयन भए । मनोनीत गरिएको कोषाध्यक्ष पदमा समेत सूर्यबहादुर शाहीलाई ल्याइयो । तर, महिलाको सहभागिता हुम्लामा पनि देखिएन ।

मुगु जिल्लाको पार्टी सभापतिमा ऐनबहादुर शाही चयन भए । उपसभापतिमा हरिजंग शाही र कर्ण रावल, सचिवमा लोकेन्द्रबहादुर मल्ल र जन्मजय भण्डारी तथा सहसचिवमा शैलेन्द्रबहादुर मल्ल र उर्गेन लामा चयन भए । अन्य जिल्लामा झैँ मुगु जिल्लामा पनि महिलाको सहभागिता शून्य नै देखियो । 



तर, दैलेख जिल्लामा भने पार्टी उपसभापतिमा रीताकुमारी शाहीलाई चयन गरियो । सभापतिमा मणीराम रेग्मी, अर्का उपसभापतिमा नवराज शाही, सचिवमा खेमराज वली र नारायणप्रसाद रेग्मी  तथा सहसचिवमा कनक सेन र महेन्द्रबहादुर शाही चयन भए ।
 
कांग्रेसले १० जिल्लामा गरी ७० जना चयन गरेका पार्टी पदाधिकारीमा एकजना मात्रै महिलालाई स्थान दियो । मनोनीत गरिएका कोषाअध्यक्ष पदमा समेत पुरुषलाई नै चयन गरिएको हो । तर, अधिकांश जिल्लामा भने कोषाअध्यक्ष पदमा मनोनीत गर्न बाँकी नै रहेको नेपाली कांग्रेस प्रदेश महामन्त्री निरञ्जन शाहीले जानकारी दिए । 

नेपाली कांग्रेस र नेकपा एमालेले गरी पार्टीको जिल्ला कमिटीमा पदाधिकारी मात्रै एक सय १० जनलाई चयन गरे । तर, यो संख्यामा जम्मा तीनजना मात्रै महिला अटाए । 

नेकपा माओवादीले भने विमला केसीलाई प्रदेश अध्यक्षको जिम्मा दिएको छ । तर, कमिटीलाई भने अझै पूर्णता दिन बाँकी रहेको केसीले जानकारी दिइन् । 

नेपालको संविधानले ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेको छ । महिला अधिकारकर्मीहरुले त झन् ५० प्रतिशत महिला सहभागिताको आवाज उठाउँदै आएका छन् । तर, देशका मुख्य राजनीतिक दलहरुले नै आफ्नो पार्टी नेतृत्वमा महिलाहरुको सहभागितालाई गौण ठान्दै आएका छन् । 

पुरुषको वर्चस्वकै कारण महिलाहरु आज पनि भूमिकाविहीन भएका हुन् । कर्णालीमा त झनै पुरुषको वर्चस्व अत्यधिक देखिन्छ । महिलाहरुको नेतृत्वलाई अझै पनि पुरुषहरुले नपत्याउने अवस्था कर्णालीमा कायमै छ । जसको गतिलो उदाहरण कर्णाली प्रदेशमा दुई ठूला पार्टीले जिल्लाका अधिवेशनबाट चयन गरेको नेतृत्वले प्रस्ट देखाउँछ ।

  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार २१:२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया