मधेश प्रदेश : मन्त्रीका राजनीतिक सल्लाहकारको मनोमानी, भाइदेखि सालासम्मलाई करोडौंको योजना

आफ्नो स्वार्थ बाझिएको, सरोकार वा निजी स्वार्थ रहेको विषयमा सल्लाह नदिनका लागि कुनै पनि मन्त्रालयले सल्लाहकार नियुक्त गर्छ । राजनीतिक सल्लाहकारको हकमा भने राजनीतिक क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको हुनुपर्छ । सम्बन्धित मन्त्रीलाई सल्लाह दिनका लागि मात्र सल्लाहकारलाई नियुक्त गरिएको हुन्छ ।

सल्लाहकारले सम्बन्धित मन्त्रालयको कर्मचारीलाई उनको काममा कुनै बाधा अवरोध सिर्जना गर्न पाउँदैनन् । तर, मधेस प्रदेशको एक मन्त्रालयमा भने राजनीतिक सल्लाहकारले आफ्नो मनोमानी गर्दै आइरहेको पाइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा गत २० साउनमा नियुक्त भएका राजनीतिक सल्लाहकार जीवनाथ चौधरीले आफू अनुकूल मन्त्रालयका योजना बाँडिरहेको पाइएको हो । 

राजनीतिक सल्लाहकारमा नियुक्त भएको ६ महिनामै मन्त्रालयको करोडौंको योजना आफ्नो आसेपासेलाई बाँडेको उनीमाथि आरोप लागेकाे हो । चौधरीले आफ्नो भाइ, भतिजा, स्टाफ, भान्जा, सालो, आसेपासे, सहकर्मीलगायतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक तथा पुल निर्माण शीर्षकबाट करोडौंको योजना बाँडेका छन् । 

उनीमाथि जनकपुरधाम–८ रामानन्दचोकस्थित सञ्चालन गरेको होटेल सीता प्यालेसका कर्मचारी राजन झा, आफ्ना भाइ रामविनोद चौधरी, रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साह, जग्गा कारोबारमै आफ्ना पार्टनरको रूपमा कार्यरत रहेका नेकपा एमालेका नेता दिगम्बर पाठक, आफ्नो साला नाता पर्ने मुरारी ठाकुर, जसपा नेपालका नेता शेषनारायण यादव, सोही मन्त्रालयका कम्प्युटर अपरेटर शिवम पाण्डे, कांग्रेसका कार्यकर्ता नवनित झा, पंकज महतो, प्रफुल्ल घिमिरे, सञ्जय मण्डल, शशीभुषण झा, रञ्जित मण्डल, सत्यम सिंह ठाकुर, चन्द्रनारायण मण्डललगायतलाई आफूअनुकूल योजना बाँडेको आरोप लागेको हो ।

जनकपुरधाम–७ का सुभाष कर्णले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयको योजना विकासका लागि हो न कि सल्लाहकार र तिनका लठैत पाल्नका लागि । सो मन्त्रालयमा फरक पार्टीको व्यक्ति भएपनि योजना हत्याउन आफ्नो भाइ र भतिजा हुनुपर्दछ ।’

उनले सल्लाहकार अन्डर टिमका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले करोडौं रकम बाँड्नु भ्रष्टाचार र मिलोमतोबाहेक अन्य केही हुन नसक्ने बताए । आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सडक तथा पुल निर्माण शीर्षकमा यी योजनामा रकम छुट्याइएको देखिन्छ । तर, मन्त्रालयका सल्लाहकार चौधरीले भने योजना आफ्ना भाइ, भतिजा र आसेपासेलाई बाँडेको पाइएको छ । 



उनले जनकपुरधाम–८ मा मैथिली विकास कोषको भवनदेखि अग्निकुण्ड जाने बाटो पिसिसि ढलान कार्यवापत ४० लाख र सोही वडामा मूल सडकदेखि रञ्जित सिंहको घर जाने बाटोमा ललित पण्डितको घरसम्म पिसिसि ​ ढलान गरेवापत २० लाख गरी कूल ६० लाखको योजना आफ्ना होटलका कर्मचारी राजन झामार्फत बाँडेका छन् । राजनीतिक सल्लाहकार चाैधरीले सोही वडामा आँखा अस्पतालको मूल बाटोदेखि रत्नसागर हुँदै रत्नचोकसम्मको सडक निर्माण शीर्षकमा २५ लाख रुपैयाँको योजना आफ्ना सहोदर भाइ रामविनोद चौधरीलाई दिएका छन् । 



उनले वडा नम्बर ८ को वडा कार्यालयबाट जाने बाटोतर्फको मूल सडकबाट मुरारी ठाकुरको घरसम्म पिसिसि ​ ढलानवापत मुरारी ठाकुरलाई २५ लाख, मनमोहन साहको घरदेखि सुनिल यादवको घरसम्म पिसिसि ढलान तथा नाला निर्माण शीर्षकमा रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साहलाई २० लाख, जनकपुरधाम–८ मा प्रकाश सिंहको घरदेखि संजीव रायको घरसम्म सडक तथा नाला निर्माण शीर्षकमा शशी भुषण झालाई २० लाख, सोही वडामा पगलाबाबा धर्मशालाको पश्चिम रिंकु मिश्र गायत्रीको घर हुँदै ७ र ८ जोड्ने बाटो र अमरेश तिवारीको घर हुँदै सिन्द्दु मिश्राको घरसम्म पिसिसि ढलान र नाला निर्माण कार्य शीर्षकमा भौतिक पूर्वाधार विकास मन्त्रालयका कम्प्युटर अपरेटर शिवम पाण्डेलाई २५ लाख दिएको पनि पाइएको छ । 

राजनीतिक सल्लाहकार चाैधरीले जनकपुरधाम–८ स्थित परिक्रमा सडकदेखि पश्चिम, मूल सडकदेखि उत्तर रिपुसुदन पाण्डेको घरसम्म सडक ढलान शीर्षकमा दिगम्बर पाठकलाई २० लाख, सोही वडामा गोदावरी मोर्डन अस्पतालको दक्षिणबाट पश्चिमतर्फ जाने सडक ढलान शीर्षकमा शिवम पाण्डेलाई २० लाख, जनकपुरधाम उपमहानगरपालिका-८ मा रहेको वलवा टोल लक्ष्मण यादवको घरदेखि भैरव स्थानसम्मको सडक पिसिसि तथा भैरव स्थानको छत निर्माण शीर्षकमा दिगम्बर पाठकलाई २० लाख, वडा नम्बर–९ स्थित पिडारी चोकको धर्मशालादेखि खानेपानी कार्यालयसम्म सडक निर्माण शीर्षकमा काँग्रेस कार्यकर्ता नवनीत झालाई ३० लाखको योजना बाँडेको पनि पाइएको छ । 

साथै, उनले वडा नम्बर ११ स्थित लक्ष्मण महासेठको घरबाट कल्भर्ट तथा नाला निर्माण कार्य शीर्षकमा काँग्रेस नेता प्रफुल्ल घिमिरेलाई २५ लाख, वडा नम्बर १२ हनुमान मन्दिरको दक्षिणतर्फ मेन रोडदेखि बामत मन्दिरदेखि मेनरोडसम्म पिसिसि ढलान शीर्षकमा काँग्रेस कार्यकर्ता पंकज महतोलाई ५० लाख रुपैयाँको योजना बाँडेका छन् । 

त्यस्तै, उनले वडा नम्बर १२ हरिद्वारीको घर हुँदै चन्द्रनारायण मण्डलको घरसम्म बिचमा नाला सहितको पिसिसि ढलान शीर्षकमा चन्द्रनारायण मण्डललाई २५ लाख, वडा नम्बर–१२ स्थित ज्ञानदेव कोचिङ सेन्टरको दक्षिणतर्फ २९ फिट बाटोदेखि रूपेश साहको घरसम्म सडक ढलान शीर्षकमा सञ्जय मण्डललाई २० लाख, सोही वडास्थित प्रगतिनगर सडक ढलान शीर्षकमा रञ्जित मण्डललाई २० लाख, वडा नम्बर–१२ विनायक टोल ज्ञानदेव कोचिङ सेन्टर नजिक नाला सहित ढलान सडक निर्माण शीर्षकमा संजय मण्डललाई १५ लाख, प्रदेशसभा भवन अगाडि सडक ढलान शीर्षकमा पंकज महतोलाई ४५ लाखको योजना छुट्याएका छन् । 

राजनीतिक सल्लाहकार चौधरीले वडा नम्बर–१३ स्थित गोपाल साहको घरदेखि विन्देश्वर साह र श्याम सुन्दर साहको घरदेखि सत्यम सिंह ठाकुरको घरसम्म नाला निर्माण, माटो, ग्राभेल तथा पिसिसि ढलान शीर्षकमा सत्यम सिंह ठाकुरलाई २५ लाखको योजना पनि वितरण गरेका छन् ।   

वडा नम्बर १३ कुर्था जाने बाटोतर्फ मुल सडकदेखि रेल्वे चाटसम्म नाला निर्माण तथा पिसिसि ढलान शीर्षकमा नवनीत झालाई २५ लाख र वडा नम्बर १३ र १४ कर्वडहल जाने बाटो राजेश यादवको घरदेखि शेषनाराणको घरसम्म पिसिसि ढलान शीर्षकमा शेषनारायण यादवलाई २५ लाख गरी कुल ५ करोड ४० लाखको योजना मन्त्रालयमार्फत सल्लाहकार चौधरीले आफ्ना आसेपासेलाई बाँडेको पाइएको छ । 

विशेष अदालतले ३ असार २०७२ मा धनुषाका तत्कालिन जिल्ला विकास समितिका सह–लेखापाल जीवनाथ चौधरीलाई भ्रष्टाचारी ठहर गरेको थियो । भ्रष्टाचार गरेको ठहर गर्दै बिगो बमोजिमको रकम ६ लाख ७५ हजार असुल गरी उनलाई ४ महिना कैद सजाय गर्न अदालतले फैसला समेत सुनाएको थियो ।

चौधरीले उक्त निर्णयविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदन गरे । यो मुद्दा अहिले पनि विचाराधीन छ । तर, यहीँ बीचमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सल्लाहकारमा उनी चयन भए । भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले ३० असारदेखि नै उनलाई सल्लाहकारमा नियुक्त गरेका थिए ।

मन्त्री यादवले नै जीवनाथलाई जिविसमा जागिर दिएका थिए । आफू जिल्ला विकास समिति सभापति भएको बेला जागिर दिएपछि चाैधरी रामसरोजका लागि काम गर्दै आएको कांग्रेस कार्यकर्ता बताउँछन् ।

मधेस प्रदेश सरकार आफै विभिन्न अनियमिततामा मुछिँदै आएको छ । सल्लाहकार नियुक्तिले झन् भ्रष्टाचार बढेको प्रदेशवासीको गुनासो छ । 

  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १३:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया