तीनै तहको चुनावसम्म गठबन्धन टिकाइराख्दा कुन दललाई कति फाइदा ?
स्थानीय चुनावमार्फत बलियो बनेर गठबन्धन फोड्ने एमालेको रणनीति

स्थानीय तहको चुनाव नेपालको वर्तमान राजनीतिक वृत्तमा सबैभन्दा धेरै बहस भइरहेको विषय हो । सत्तारूढ गठबन्धनका प्रमुख घटक नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टी स्थानीय चुनाव सार्ने पक्षमा देखिएका छन् भने सरकारको नेतृत्व गरिरहेको गठबन्धनको ठूलो दल नेपाली कांग्रेसभित्र सार्ने कि नसार्ने भन्ने विषयमा मतभेद छ ।

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनका लागि भए पनि स्थानीय तहको चुनाव सार्ने माओवादी र एकीकृत समाजवादीको प्रस्तावमा छलफल गर्न खोज्दैछन् । यता कांग्रेसको संस्थापन इतर नेताहरूले स्थानीय तहको चुनाव कुनै पनि हालतमा नसार्न सभापतिलाई दबाब दिन थालेका छन् । स्थानीय तहको चुनावमा नेपालका सबै राजनीतिक दलका आआफ्नै दाउपेच छन् ।

एमाले : स्थानीय तहमा बलियो देखाएर गठबन्धन फोड्ने

वर्तमान परिस्थितिमा नेपाली राजनीति नेकपा एमालेका कारण तरङ्गित छ ।  नेकपा एमालेले स्थानीय चुनावमा एक्लै भए तापनि शक्ति प्रदर्शन गरेर आफ्नो बल देखाउँदै प्रदेश र प्रतिनिधिसभाको चुनावमा गठबन्धनलाई फुटाउने योजनामा छ ।

यद्यपि, नेकपा एमाले महासचिव शंकर पोखरेलले गठबन्धन फुटाउने, जुटाउने एमालेको काम नभएको तर्क गर्छन् । उनले स्थानीय तहको चुनाव कुनै पनि हालतमा सार्न नपाइने भन्दै गठबन्धन सरकारको जालझेलविरुद्ध एमाले एक्लै चुनाव लड्न सक्ने बताए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै स्थानीय तहको निर्वाचनका विषयमा तर्क दिइसकेको बताए ।

माघ ९ गते एमाले अध्यक्ष ओलीले एक वक्तव्य जारी गर्दै भनेका थिए  ‘स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा नेकपा (एमाले) को स्पष्ट, द्विविधारहित र दृढ अडान छ । यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोकाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य हुने छैन ।'



अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनलाई पर धकेल्न सत्तारुढ गठबन्धनले २०७९ वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्ड फ्याँकेको जिकिर गर्दै त्यसले मुलुकमा राजनीतिक अन्यौलता सिर्जना गर्ने दाबीसमेत गरेका थिए  ।

कांग्रेस : भए गठबन्धन, नभए एक्लै काफी



यता संघीय सरकारको नेतृत्व गरिरहेको कांग्रेस सभापति देउवा गठबन्धनसहित चुनाव लड्ने प्रयासमा छन् । यद्यपि, नेकपा माओवादी र एकीकृत समाजवादीका लागि गठबन्धन आवश्यक रहेको भन्दै एमालेविरुद्ध मोर्चाबन्दी गरिरहेको कांग्रेसभित्र चुनावमा गठबन्धन नगरी लड्नुपर्ने आवाज पनि उठिरहेको छ ।

२०७४ को स्थानीय चुनावमा वाम गठबन्धनका बाबजुद दोस्रो भएको कांग्रेस योचोटि कम्युनिस्ट पार्टीहरू टुटेकाले फाइदा उठाउन सक्ने अवस्थामा छ । त्यसैले  गठबन्धनसँगै गए पनि ठीक टुटे पनि फरक नपर्ने मनस्थितिमा कांग्रेस छ ।

यद्यपि, १४ औँ महाधिवेशनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिबद्धता जनाएका देउवा भने चुनावको मिति सारेर भए पनि गठबन्धनलाई कायम राख्ने पक्षमा छन् ।  

स्थानीय तहका निर्वाचन कुनै पनि हालतमा सार्न नहुने संस्थापन इतरको तर्क छ । कांग्रेस संस्थापन इतर नेताहरूले प्रधानमन्त्री एवं सभापति देउवाले गठबन्धन बलियो बनाएर कांग्रेस कमजोर बनाइरहेको टिप्पणी गर्दै आएका छन् ।

माओवादी : मत बढाउन गठबन्धन

नेकपा माओवादी केन्द्र योचोटि आफ्नो मत बढाउने दाउमा छ । आफ्नो पकड क्षेत्रमा गठबन्धनबाट भाग लिने र अन्य क्षेत्रमा एमाले हराउने दाउमा रहेको नेकपा माओवादी स्थानीय तहभन्दा प्रदेश र प्रतिनिधिसभाको चुनाव पहिले होस् भन्नेमा छ ।

स्थानीय चुनावमा गठबन्धन टुटे प्रदेश र प्रतिनिधिसभाको चुनावमा हारको सामना हुने डर माओवादीमा देखिन्छ । तर, यो कुरा माओवादी स्वीकार गर्न तयार छैन । नेकपा माओवादी संसदीय दलका सचेतक देव गुरुङले एमालेका कारण प्रतिनिधिसभाको चुनाव पहिला गर्न प्रस्ताव गरेको दाबी गर्छन् ।

उनले संसद चल्न नदिएर एमाले संविधान नै खतरामा पारेकोले प्रतिनिधिसभाको चुनाव गरेर फेरि नयाँ ढंगले अगाडि बढ्न खोजेको बताए । उनले गठबन्धन चुनावसम्म जाने कुरामा सबै नेताहरू ढुक्क भएकाले स्थानीय तहको चुनाव वा प्रतिनिधिसभाको चुनाव भन्ने विषय नभएको दाबी गरे ।

 नेकपा एस : जित्न नसके हराउने दाउ

नेकपा माओवादीको जस्तै रणनीति माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको छ । नेकपा एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादीले गठबन्धनबाट चुनाव लडेर आफूलाई ठूला दलको लिस्टमा पार्न खोजेको छ ।

त्यसका लागि स्थानीय तहको चुनावभन्दा पहिले प्रदेश र प्रतिनिधिसभाको चुनाव होस भन्ने उसको चाहना हो । एकीकृत समाजवादीको कमजोर धरातल भएकाले स्थानीय तहमा जित्न नसक्ने ठाउँमा एमालेलाई हराउने योजनामा छ ।

नेकपा एसका महासचिव बेदुराम भुषालले भने स्थानीय तहको चुनाव सार्ने भनेर कसैले नभनेको भन्दै संविधानको धारा २१५ को व्याख्या गर्छन् । उनी संविधान र निर्वाचन आयोगका कानुनअनुसार केही मतभिन्नता रहेको भन्दै दुई चरणमा यसअघि निर्वाचन भएकोले केही कानुनी जटिलता रहेको बताउँछन् ।

भुसालले आफूहरू एमालेदेखि नडराएको भन्दै सबै ठाउँमा एक्लै चुनाव लड्न सक्ने दाबी गरे । तर, गठबन्धनका विषयमा प्रधानमन्त्री देउवा र घटक दलका नेताहरू एकमत भएकोले चुनावसम्म गठबन्धन भइरहने उनको भनाइ छ ।

जसपा  :  एमाले  र लोसपाविरुद्धले फाइदा

गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टी पनि चुनावसम्म गठबन्धन टिकोस् भन्ने पक्षमा छ । पहाडी क्षेत्रमा एमालेविरुद्ध गठबन्धनका तर्फबाट आफ्नो पार्टीलाई जनमत ल्याउने र मधेसमा लोसपाविरुद्ध गठबन्धनमार्फत फाइदा उठाउने दाउमा रहेको छ ।

पछिल्लो समय मधेसमा पकड बनाइरहेको सिके राउतको पार्टी जनमतविरुद्धमा जसपाले गठबन्धन प्रयोग गर्ने दाउमा छ । तर, स्थानीय निर्वाचनको विषयमा भने गठबन्धनमा जसपाले आफ्नो स्पष्ट धारणा अझै राखेको छैन ।

  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १७:३८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया