इंग्लिस प्रिमियर लिगः चेल्सीको अप्रत्याशित हार, म्यानचेस्टर युनाइटेड–आर्सनल बराबरी

एजेन्सी– बुधबार राति भएको इंग्लिस प्रिमियर लिगमा वुल्भ्सले चेल्सीमाथि जित निकालेको छ । वुल्भ्सले चेल्सीलाई २–१ ले पराजित गरेको छ । 

खेलमा अग्रता भने चेल्सीले लिएको थियो । चेल्सीका लागि १८ औं मिनेटमा लोफ्टम चेकले गोल गरेका हुन् । पहिलो हाफमा १–० ले अगाडि रहेको चेल्सीले दोस्रो हाफमा गोल गर्न सकेन, बरु उल्टै २ गोल खान पुग्यो । 

पहिलो हाफमा १ गोल खाएको वुल्भ्सले दोस्रो हाफको सुरुवातमा बराबरी गोल फर्कायो । दोस्रो हाफ सुरु भएको १४औं मिनेटमा वुल्भ्सका लागि जामिनेजले बराबरी गोल गरेका हुन् । त्यसको चार मिनेटपछि जोटाले अर्को गोल गर्दै वुल्भ्सलाई २–१ ले अग्रता दिलाए । त्यसपछि कुनै गोल हुन सकेन र चेल्सी हार आत्मसात् गर्न बाध्य भयो । 

लिभरपुल विजयी

त्यसैगरी, लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले बर्नलीमाथि ३–१ को जित निकालेको छ । खेलमा अग्रता गोल गरे पनि बर्नलीले त्यसपछि गोल गर्न सकेन, बरु ३ गोल खान पुथ्यो । 



यी दुईबीचको खेलको पहिलो हाफमा कुनै गोल भएन । खेल अवधिभर भएका ४ गोल गोल दोस्रो हाफमा भएका हुन् । खेलको ५४ औं मिनेटमा बर्नलीका लागि क्रोकले गोल गरेका हुन् । त्यसपछि लिभरपुलका लागि ६२औं मिनेटमा जेम्स मिल्नर, रोबर्टो फिर्मिनीले ६९औं मिनेट र साकिरीले इन्जुरी समयमा गोल गरेका हुन् । 

म्यानचेस्टर युनाइटेड–आर्सनल बराबरीमा



त्यस्तै, बुधबार नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनलले २–२ गोलको बराबरी खेलेका छन् ।

यी दुई टोलीबीचको खेलको २६औं मिनेटमा आर्सनलले अग्रता लिएको हो । खेलको २६औ मिनेटमा मुस्ताफीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका हुन् । तर, त्यसको चार मिनेटपछि नै म्यानचेस्टर युनाइटेडका मार्टियलले बराबरी गोल फर्काए । 

पहिलो हाफमा १–१ खेलेका यी दुईबीचको खेलको ६८औं मिनेटमा म्यानचेस्टर युनाइटेडका मार्कोस रोजोले आत्मघाती गोल गरे । उनको आत्मघाती गोलबाट आर्सनलले पुनः अग्रता लिएको थियो, तर त्यसको एक मिनेटपछि लिङगार्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

टोटनह्यामले साउथह्याम्टनलाई हरायो 

बुधबार राति नै भएको अर्को खेलमा टोटनह्यामले साउथह्याम्टनलाई ३–१ गोलले पराजित गरेको छ ।

 खेलमा टोटनह्यामका लागि ह्यारी केनले नवौं, लुकास माउराले ५१औं र सन हेयुङ मिनले ५५औं मिनेटमा गोल गरे । साउथह्याम्टनका अस्टिनले दोस्रो हाफको इन्जुरी टाइममा सान्त्वना गोल फर्काएका हुन् ।

लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको १५ खेलबाट ४१, दोस्रो स्थानको लिभरपुलको ३९, तेस्रो स्थानको टोटनह्यामको ३३ अंक छ भने चौथो स्थानमा रहेकोको चेल्सी र पाँचांै स्थानको आर्सलनको बराबर ३१ अंक छ ।

  • प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार १०:१६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया