मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । मधेस प्रदेशमा राष्ट्रिय निर्वाचनको लागि मतदान स्थल जनकपुरधामको महेन्द्रनारायण निधि प्रतिष्ठान तोकिएको छ । 

बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको मधेस प्रदेश निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । कोरोना महामारीलाई मध्यनजर गर्दै निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा सम्बन्धी तोकेको १९ बुँदे मापदण्डलाई पूर्ण रूपमा पालन गरी निर्वाचन तालिका तोकिएको उनले बताए । 

संक्रमित मतदाताका लागि बेग्लै मतदान स्थल बनाइएको छ भने मत खसाल्न बेग्लै बाकससमेत राख्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकृत प्याकुरेलले बताए । मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली समेत खटाइने उनले बताए । मतदान सकिए लगत्तै मतगणना सुरु गरेर मत परिणाम आउने तरिकाले व्यवस्था भएको उनले बताए ।

मधेस प्रदेशका ८ वटै जिल्लामा राष्ट्रिय सभाको लागि ३ सय ७२ मतदाता रहेको छ । निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने उनले बताए । प्रदेश सभा सदस्यहरूको लागि सेतो पानामा हरियो रंग भएको मतपत्र रहेको छ भने पालिका प्रमुख र उपप्रमुखको लागि रातो मासिक विवरण भएको मतपत्र रहेको छ । 

त्यसैगरी, मतदान स्थलमा प्रदेश सांसद र पालिकाका प्रमुख उपप्रमुखको लागि पनि फरक–फरक स्टिकर र केन्द्र तोकिएको बताउँदै अधिकृत प्याकुरेलले भने,‘प्रदेश सभाका लागि हरियो मतपत्र र लाइन छुट्टै हुन्छ भने पालिका प्रमुख उपप्रमुखका लागि रातो रङको मतपत्र, छुट्टै मतपेटिका र लाइन अलग हुन्छ ।’ महिला, दलित, अपांग, अल्पसंख्यक र अन्य गरेर चार किसिमको क्लस्टर रहेको छ।

प्रदेश सरकारका मन्त्री र कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठनलाई आचार संहिता लाग्ने उनले बताए ।



यसैबीच, राष्ट्रिय सभा सदस्य चुनावका लागि मधेस प्रदेशमा दुई पदमा विभिन्न ४ दलबाट ४ जनाले उम्मेदवारी दिएका छन् । सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र र जसपाले १–१ जना र नेकपा एमाले लोकतान्त्रिक समाजवादी पार्टी गठबन्धनबाट २ जना उम्मेदवारी दिएका हुन् । 

सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा र अन्य समूह कोटामा जसपातर्फबाट सिराहामा मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दिएका छन् । 



लोसपाबाट महिला कोटामा महोत्तरीकी रूपा यादव, नेकपा एमालेको तर्फबाट अन्य समूहमा पर्साका उस्सान अन्सारीले उम्मेदवारी दिएका हुन् । महिला कोटमा एमालेबाट उम्मेदवारी दिएकी बिनादेवी साहले आफ्नो उम्मेदवारी फिर्ता गरिसकेकी छिन् । 

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । निर्वाचन आयोगले पालिका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । यस हिसाबले मधेस प्रदेशमा स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ । 

राजनीतिक दलका आधारमा कांग्रेसको २ हजार ३७० मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ ।

  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार २०:२५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया